काठमाडौँ । काठमाडौँको नक्सालस्थित बालमन्दिर ९नेपाल बाल संगठन० को जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। बालमन्दिरको स्वामित्वमा रहेको बहुमूल्य जग्गा व्यक्तिगत तथा व्यावसायिक लाभका लागि अवैध रूपमा हिनामिना गरेको उजुरीका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।
नेपाल बाल संगठनको जग्गा लिजमा दिने नाममा व्यापक अनियमितता र जालसाजी भएको सार्वजनिक भएपछि सीआईबीले यस प्रकरणमा सुक्ष्म अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
केही समयअघि मात्रै बालमन्दिरको जग्गा कौडीको भाउमा व्यापारिक समूहलाई दिएको र त्यस क्रममा सरकारी कागजात कीर्ते गरिएको भन्दै उजुरी दर्ता भएको थियो। सोही सिलसिलामा प्रहरीले विभिन्न व्यक्तिहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।