लोड हुँदैछ...

मेनु

मौद्रिक नीतिपछि सेयर बजार लगातार ओरालो, तीन दिनमै नेप्से ७६ अंकले घट्यो

मौद्रिक नीतिपछि सेयर बजार लगातार ओरालो, तीन दिनमै नेप्से ७६ अंकले घट्यो

विराटनगर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिप्रति लगानीकर्ताको अपेक्षा पूरा हुन नसक्दा नेपाली सेयर बजार लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ। मौद्रिक नीतिले बजारलाई चलायमान बनाउने खालका ठोस तथा नयाँ व्यवस्था नल्याएको भन्दै लगानीकर्ताले बिक्री चाप बढाउँदा बिहीबार नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा बन्द भएको हो।

मंगलबार मौद्रिक नीति सार्वजनिक भएयता बजारमा लगातार गिरावट देखिएको छ। बुधबार ३०.०९ अंकले घटेको नेप्से बिहीबार पुनः दोहोरो अंकले ओरालो लागेसँगै पछिल्ला तीन कारोबार दिनमा बजार करिब ७६ अंकले घटिसकेको छ। यसले लगानीकर्ताको मनोबल कमजोर बनेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३६१ वटा धितोपत्रका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।

बजारमा बिक्री दबाब हाबी हुँदा अधिकांश कम्पनीको सेयरमूल्य घटेको छ। कारोबार भएका २७७ कम्पनीमध्ये ४२ कम्पनीको सेयरमूल्य बढ्दा २२९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

बिहीबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार २०० रुपैयाँ पुगेको छ। स्नो रिभर्सको सेयरमूल्य पनि ११.७६ प्रतिशतले वृद्धि भई ८७९ रुपैयाँ कायम भएको छ।

यता, बिओके डिबेन्चर २०८६ को मूल्य सबैभन्दा धेरै ८.६६ प्रतिशतले घटेर प्रतिडिबेन्चर १ हजार १३९ रुपैयाँमा झरेको छ। साल्पा विकास बैंकको सेयरमूल्य पनि ८.२८ प्रतिशतले घटेर ८७५ रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ अग्रस्थानमा रह्यो। उक्त डिबेन्चर १ हजार ११९ रुपैयाँ प्रतिइकाइ मूल्यमा ३५ करोड ५८ लाख रुपैयाँ बराबर कारोबार भएको छ। दोस्रो स्थानमा १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ रह्यो, जसको २८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ म्युचुअल फण्डबाहेक अन्य सबै १२ उपसमूह राताम्मे बने। व्यापार समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधनलगायत अधिकांश उपसमूहमा पनि उल्लेख्य गिरावट देखिएको छ।

लगातारको गिरावटले बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको देखिएको छ। अब आगामी दिनमा राष्ट्र बैंकबाट आउने कार्यान्वयन सम्बन्धी निर्देशन, बैंकिङ प्रणालीमा तरलताको अवस्था तथा संस्थागत लगानीकर्ताको गतिविधिले बजारको आगामी दिशा निर्धारण गर्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।