लोड हुँदैछ...

मेनु

तस्करीको पोल खुलेपछि झापाका दुई डिएसपीको मोवाइल गृहमन्त्रीको नियन्त्रणमा

तस्करीको पोल खुलेपछि झापाका दुई डिएसपीको मोवाइल गृहमन्त्रीको नियन्त्रणमा

विराटनगर । गृहमन्त्री सुदन गुरुङ झापाको काँकडभिट्टा सीमा र भन्सार कार्यालयको निरीक्षण गर्ने क्रममा तस्करी हुने सूचना एक जना महिलाले बताएपछि दुई जना डिएसपी सहित ११ जना प्रहरी अनुसन्धानको दायारामा तानिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी निशेष चापागाईं, बोर्डर आउट पोस्ट (बिओपी) काँकडभिट्टाका डिएसपी विकास थापासहित ११ जनाको मोवाइल नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

सशस्त्रका ६ जना प्रहरी र नेपाल प्रहरीका ५ जना प्रहरीहरुमाथि अनुसन्धान सुरु भएको छ । झापाको विभिन्न नाकाहरुबाट तस्करीको लाइन चलाएको आरोपमा प्रहरीले उनीहरुमाथि अनुसन्धान सुुरु गरिएको हो ।

अनुसन्धानको दायारमा आउनेहरु ६ जना सादा पोशकका प्रहरीहरु समेत रहेका छन् । उनीहरुलाई हेडक्वाटरमा तानेर अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरीको हेडक्वाटरमा भने झापाका तीन जना सशस्त्रका घुमुवाहरुलाई यसअघि नै तानेर अनुसन्धान सुरु भइरहेको छ ।

कोशी प्रदेशमा सशस्त्र प्रहरीको घुमुवा बसेर तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ गर्दै ‘असुली आतंक’ मच्चाउनेहरुमाथि छानबिन सुरु भएको हो । सशस्त्र प्रहरी बल मुख्यालयले काठमाडौं तानेर तीन जनामाथि छानबिन गरिरहेको छ ।

सशस्त्रको छानबिनमा पर्नेहरुमा सशस्त्र प्रहरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा कार्यरत सई (सशस्त्र प्रहरी नायब निरीक्षक) गणेश खड्का, सशस्त्र प्रहरीको झापास्थित ३८ नम्बर रिजर्भ गणमा कार्यरत हवल्दार हरि मगर र सुनसरीस्थित सशस्त्र प्रहरीको ४ नम्बर गणमा कार्यरत जवान पारस यादव रहेका छन् । त्यसैगरी सशस्त्रका बरिष्ठ हवल्दार श्याम चौधरी र सहयाक हल्वदार नारयण खनाल रहेका छन् ।

तीन जनालाई असार १० गते काठमाडौं तानेर छानबिन एवं आन्तरिक अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए । उनीहरुको तस्करको समूहसँग मिलेमतो गरेर आर्थिक लाभ लिएको लगायतका विभिन्न गुनासाहरु आएका थिए ।

पछिल्लो समय सई खड्काले कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनिष थापाको घुमुवा बनेर तस्करीमा संलग्न व्यक्तिहरुसँग असुली गर्ने गरेको आरोप लागेको छ । हवल्दार मगर र जवान यादव दुवै जनालाई आफ्नो मातहतमा रहनेगरी खड्काले परिचालन गरेका थिए । खड्काकै माध्यमबाट खटिएका उनीहरुले तस्करी र अवैध धन्दा चलाउने समूहसँग मिलेमतो गरेर असुली गर्ने गरेको उजुरी सशस्त्र मुख्यालयमा परेको थियो ।

आइतबार दिउँसो गृहमन्त्री सुधन गुरुङ काँकडभिट्टा सीमा र भन्सार कार्यालयको निरीक्षण गरेका थिए । त्यहाँ स्थानीय व्यापारी बन्दना मेचेले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमत्तोमा भारतबाट खुल्ला रुपमा तस्करी हुने गरेको गुनासो गरेकी थिइन् ।

‘‘रात परेपछि झापाको काकरभिट्टा नाकाका विभिन्न क्षेत्रमा तस्करी हुने गर्दछ । यहाँ धेरै जनाको लाइन चल्ने गरेको छ । फलानाको लाइन, ढिस्कानाको लाइन, यतिको लाइन भन्ने कुरो चाहिँ चेन्ज–अप हुनु पर्यो । म मिडियामा भन्न सक्दिन सर,’ गृहमन्त्री गुरुङलाई मेचेले सुनाइन् । त्यसपछि गृहमन्त्रीले ती महिलालाई मेची भन्सार कार्यालयभित्र लगेर उनको गुनासो सुनेका थिए । ती महिलाले तस्करीको लाइन बारेमा जानकारी लिन थालेपछि गृहमन्त्री गुरुङले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र मेची भन्सार प्रमुख शिवलाल न्यौपानेलगायत प्रहरीका अन्य सुरक्षाकर्मीहरुलाई पनि बाहिर निकालेर गुनासो सुनेका थिए ।

मेचेको कुरा सुनेपछि गृहमन्त्री गुरुङले इप्रका काकरभिट्टाका डिएसपी चापागाइको मोवाइल नियन्त्रणमा लिएर विधिविज्ञान प्रयोगशालामा अनुसन्धानको लागि पठाएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी विनोद घिमिरेले गृहमन्त्रीले झापामा स्थलगत निरीक्षण गर्ने क्रममा केही गनुसोहरु सुन्नुभएपछि थप अनुसन्धान सुरु गरेको बताए ।

‘‘केही गुनासोहरु आएका छन् । गुनासोको विषयमा हामी थप अनुसन्धान गर्नेछौं । सामान ओसारपसार गर्नेले गुनासो सुनाएका हुन् । यी मान्छेलाई कारवाही गर्नुहोस् भनेर गृहमन्त्रीज्यूले पनि भन्नुभएको छ,’ डिआईजी घिमिरेले भने । जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले अनुगमनको क्रममा केही गुनासो आएकाले हामीले आन्तरिक रुपमा पनि यस घटनाको छानविन गर्ने बताइन् । ‘‘तपाइले सुनेको कुराहरु सही हुन् । यस विषयमा हामीले छानविन गर्दै आएका छौं,’ उनले भनिन् ।

डिएसपी चापागाईंले भने गृहमन्त्रीले आफ्नो मोबाइल नियन्त्रणमा लिएको दाबीलाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।