धरान । धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग भित्रिएका छन्। लामो समयदेखि निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरी नयाँ उद्योगलाई स्थान दिइएपछि करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी उत्पादन नगरी लामो समयदेखि जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरेको थियो। निष्क्रिय उद्योगहरूको सम्पत्ति मूल्याङ्कन, सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरण प्रक्रिया पूरा गरेपछि नयाँ उद्योगसँग सम्झौता गरिएको धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले जानकारी दिए।
नयाँ उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।
धरान औद्योगिक क्षेत्रमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि, जीडी स्टिल इन्डस्ट्रिज प्रालि, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स प्रालि र सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालि भित्रिएका छन्। सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको चरणमा रहेको बन्जाडेले बताए।
यसअघि नेपाल न्यून नेटवर्क प्रालि, शुभम् वाटर इन्डस्ट्रिज प्रालि, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज प्रालि र कामना मल्टिफोर्ड इन्डस्ट्रिज प्रालि को लिज सम्झौता रद्द गरिएको थियो।
नयाँ उद्योगमध्ये प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिजले पानीका मिटर तथा फिटिङ सामग्री उत्पादन गर्नेछ भने जीडी स्टिल इन्डस्ट्रिज र जेआर भेन्चर्सले निर्माण सामग्री उत्पादन गर्नेछन्। सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार उत्पादन गर्ने तयारी गरेको छ। सूर्य डायमन्ड इन्डस्ट्रिजले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्ने योजना बनाएको छ।
प्रमुख बन्जाडेका अनुसार उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरिएको हो। उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूरा हुनुका साथै केही उत्पादन निर्यात गर्ने सम्भावना पनि रहेको उनले बताए।
भारत सरकारको सहयोगमा २०२९ मङ्सिर २६ गते शिलान्यास भई २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान–८, तीनकुनेमा अवस्थित छ। २०२ रोपनी क्षेत्रफलमध्ये १४३ रोपनी १४ आना जग्गा उद्योगलाई भाडामा दिइएको छ भने करिब ५५ रोपनी क्षेत्र युटिलिटी सेवाका लागि प्रयोग भइरहेको छ।
हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन्। तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा छन्। सञ्चालनमा रहेका उद्योगहरूले करिब एक हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट दुई अर्ब रुपैयाँभन्दा बढी र सरकारी क्षेत्रबाट एक अर्ब ७० करोड रुपैयाँभन्दा बढी लगानी रहेको कार्यालयले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।