लोड हुँदैछ...

मेनु

कोशीमा गृहमन्त्रीको चार दिन : मन्दिरमा पुजा देखि प्रहरीलाई कोठामा थुनेर मोवाइल खोस्नेसम्म

कोशीमा गृहमन्त्रीको चार दिन : मन्दिरमा पुजा देखि प्रहरीलाई कोठामा थुनेर मोवाइल खोस्नेसम्म

विराटनगर । सामान्यतया कुनै मन्त्री जिल्ला भ्रमणमा निस्कँदा अगाडि–पछाडि सुरक्षाकर्मीको लावालस्कर, सरकारी तामझाम र पहिले नै तय गरिएको सेट कार्यतालिका हुन्छ । तर, गृहमन्त्री सुदन गुरुङको कोशी प्रदेशको तीन दिने भ्रमण भने अलि भिन्न र अनपेक्षित देखियो । सुरक्षा अधिकारीहरूलाई समेत हम्मे–हम्मे पार्ने गरी अनपेक्षित शैलीमा उनी कहिले अस्पतालको जग्गा मिच्नेलाई थर्काइरहेका भेटिए त कहिले सुरक्षाकर्मीको घुसखोरीको उजुरी सुन्दै स्पस्टीकरण लिइरहेका देखिए । तीन दिनदेखि कोशीका जिल्लाहरूमा गृहमन्त्री गुरुङको दौडधूपले प्रदेशको प्रशासनिक र सुरक्षा संयन्त्रमा मात्र होइन, भुइँतहका नागरिकमा पनि एक खालको हलचल पैदा गरेको छ ।


शनिबार मोरङ ओर्लिएका गृहमन्त्री गुरुङले भन्सार, जिल्ला प्रशासन अनुगमन गरेपछि उनी सुनसरी तिर लागेका थिए । विराटनगर विमानस्थलमा ओर्लने बित्तिकै उनले सुरक्षामा खटिएका तालिमप्राप्त कुकुरहरूसँग केही बेर खेलेका थिए । तर, त्यसपछिको उनको सक्रियता भने प्रशासनका लागि टाउको दुखाइ बन्यो । जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर उनले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई नागरिकता र राहदानी जस्ता सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न निर्देशन दिए । ‘यहाँ यति धेरै जग्गा रहेछ भन्ने थाहै थिएन, अब वान स्टप सोलुसनको अवधारणामा एउटै परिसरबाट एकीकृत सेवा प्रवाह गर्ने गरी व्यवस्थापन मिलाउनुहोस्,’ उनले प्रजिअलाई भने ।


प्रशासन कार्यालय परिसर बाहिर रहेको हनुमान मन्दिरमा पूजा गरेपछि उनी रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालय पुगे । त्यहाँ प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग सीमा सुरक्षा र अपराध नियन्त्रणबारे ब्रिफिङ लिएर उनी सिधै जोगवनी सीमा नाकामा पुगे । रानी नाकाको निगरानी प्रणाली अवलोकन गरेपछि उनले एकीकृत जाँच चौकीको निरीक्षण गर्दै अवैध कारोबार रोक्न कडा निर्देशन दिए । शनिबार दिनभर कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरे मन्त्रीसँगै निरीक्षणमा खटिएका थिए । तर, त्यसपछि भने मन्त्रीले ‘मलाई अब धेरै सुरक्षाको ताँती चाहिँदैन’ भनेपछि डिआइजी र अन्य अधिकारीहरू अलमलमा परेका थिए । जिल्लाकाले भ्याइ हाल्छ भनेर उनले भनेका थिए ।


मोरङ पनि मन्त्री गुरुङ शनिबार साँझ सिधै धरान पुगे । उनी कुनै बेला घोपा बचाउ अभियान (विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार आन्दोलन) मा सक्रिय थिए । मन्त्री भएपछि उनले ती पुराना साथीहरूलाई बिर्सिएनन् र घर–घरमा पुगेर अभियानका सदस्यहरूलाई भेटे । त्यसपछि उनी कसैलाई जानकारी नदिई राति ९ बजे धनकुटाको भेडेटार पुगे । भेडेटारमा उनले आफ्ना नातेदार विष्णु श्रेष्ठको होटलमा बसे । रातको १२ बजेसम्म उनले इलाका प्रहरी कार्यालय भेडेटारमा स्थानीयसँग छलफल गरे ।


आइतबार बिहान धनकुटा पुगेका मन्त्री गुरुङले निशान मन्दिरमा पुजाअर्चना गरे । त्यहाँ उनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको निरीक्षण मात्र गरेनन्, एउटा रोचक प्रयोग पनि गरे । उनले उपस्थित पत्रकारहरूलाई भने– ‘तपाईंहरू यहा सेवा लिन आए सेवाग्राहीसँग सेवाको विषयमा सोध्नुहोस म सुन्छु ।’


त्यसपछि उनी विराटनगरस्थित कोशी अस्पताल आए । अस्पतालको स्वामित्वमा रहेको अर्बौँको जग्गा दशकौँदेखि विभिन्न संघसंस्था र व्यक्तिले कब्जा गरेर व्यवसाय चलाइरहेको फेला पारेपछि मन्त्री गुरुङ आक्रामक रूपमा प्रस्तुत भए । अनुगमनका क्रममा उनले उज्वल फार्माका सञ्चालक अरुण ठाकुरलाई सोधे– ‘यो जग्गामा पसल राखेबापत कसलाई पैसा बुझाउनुहुन्छ ?’ ठाकुरले मन्दिर समितिलाई बुझाउने गरेको बताएपछि मन्त्रीले तत्कालै भने, ‘यो जग्गा अस्पतालको हो, तपाईंहरूले मन्दिर समितिलाई भाडा तिरेर हुँदैन । ७ दिनभित्र समितिसँग समन्वय गरी यो ठाउँ खाली गर्ने प्रक्रिया अघि बढाउनुहोस् ।’


गत असार ५ गते नै अस्पतालले अतिक्रमित जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिएको भए पनि पहुँचवालाहरूको आडमा कसैले टेरेका थिएनन् । नापी कार्यालयको प्रतिवेदन अनुसार अस्पतालको कित्ता नम्बर ११ देखि २६ सम्मका जग्गाहरूमा नेपाल क्षयरोग निवारण संस्थाले भवनै बनाएर मासिक २ लाख भाडा खाइरहेको छ भने गणेश मन्दिर व्यवस्थापन र रेडक्रस सोसाइटीले पनि सटरहरू भाडामा लगाएर लाखौँ असुली गरिरहेका छन् । गृहमन्त्रीको अनुगमनपछि अस्पताल प्रशासनले ७ दिने अलटिमेटम दिएर सोमबार अर्को सुचना जारी गरेको छ ।
मन्त्री गुरुङ आइतवार नै झापामा गएर बसेका थिए । सोमबार काँकडभिट्टा सीमा र भन्सार नाकाको निरीक्षणका क्रममा एक स्थानीय महिलाले मन्त्रीलाइ उजुर गरेकि थिइन् । ‘मन्त्रीज्यू, यहाँका प्रहरीका घुमुवाहरूले तस्करसँग मासिक रुपमा मोटो रकम उठाउँछन् र पैसा लिएर सामान ओहोरदोहोर गर्न दिन्छन् ।’ महिलाले केही प्रहरीको नामै किटेर उजुरी गरेपछि मन्त्री गुरुङ आक्रोशित बने । उनले तत्काल इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी निशेष चापागाईंलाई बोलाएर उनको मोबाइल आफ्नै अगाडि टेबुलमा राख्न लगाए । स्रोतका अनुसार मन्त्रीले भन्सार कार्यालयभित्रै केही प्रहरीलाई मात्र राखेर मोवाइल नियन्त्रणमा लिई सोधपुछ गरेका थिए । यद्यपि, झापाकी एसपी बसुन्धरा खड्काले मोबाइल खोसिएको कुरालाई औपचारिक रुपमा अस्वीकार गरेकी छिन् ।


झापामा रहँदा उनले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरूलाई भेटे भने जिल्ला कारागार र भन्सार नाकाहरूको पनि अनुगमन गरे । मन्त्री ज्यु परम्परागत मन्त्रीजस्तो यस म्यान बनेर हिँड्न नचाहेको देखिएको केहि सुरक्षा अधिकारीहरु बताउछन् । एक सुरक्षा अधिकारीले भने , ‘पहिले मन्त्री आउँदा महिना दिन अघि नै सेडुल आउँथ्यो । अहिलेका गृहमन्त्री कतिखेर कहाँ पुग्छन्, के भन्छन्, केही पत्तो हुँदैन । हामी त उनको पछि दौडिँदा–दौडिँदा हैरान भयौँ ।’ गृहमन्त्री गुरुङ आज काठमाडौ फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।