विराटनगर । मोरङ कारागारका कैदीबन्दीको भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई आज (बुधबार) बिहान ११ बजे उच्च अदालत विराटनगरमा उपस्थित गराइने भएको छ ।
गिरीका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले उनलाई सशरीर उपस्थित गराउन आदेश दिएको थियो । न्यायाधीश पूर्णप्रसाद राजवंशीको एकल इजलासले असार १५ गते विपक्षीका नाममा ‘कारण देखाउ’ आदेश जारी गर्दै असार १७ गते बुधबार दिनको ११ बजे बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो ।
अदालतको सोही आदेश पालना गर्दै मोरङ प्रहरीले गिरीलाई आज बिहान ११ बजे उच्च अदालत लैजाने तयारी गरेको छ । उच्च अदालतका रजिष्ट्रार जगदीश भट्टका अनुसार सोमबार दर्ता भएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो ।
गिरीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डिल्लीबहादुर कार्की, हेमराज पन्त र भरतबाहादुर थापा तथा अधिवक्ताहरू कल्याण केसी, विकास थापा र अभिषेक घिमिरेले बहस गरेका थिए ।
मोरङ प्रहरीले गिरीलाई शनिबार असार १३ गते बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट पक्राउ गरेको थियो । कारागारभित्रका कैदीबन्दीको रासन भत्ता र पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।