हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले राजीनामा दिएको जानकारी गराएका हुन्। साथै राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
एमालेबाट कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, यातायात हेर्ने मन्त्री जयराम थापा, वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी तथा स्वास्थ्य हेर्ने मन्त्री किरण थापाले पदबाट राजीनामा दिएका छन्।
एमाले संसदीय दलका नेता थपलियाले सरकारलाई दिइएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिइएको जानकारी दिएका छन्।
मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वबाट सरकारबाट बाहिरिन निर्देशन आएको थियो। त्यसपछि मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।
बागमती प्रदेशमा २०८१ साउनदेखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो। झण्डै दुई वर्षपछि एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँले अब संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ।
यसअघि मुख्यमन्त्री चितवनमा रहेका कारण राजीनामापत्र बुझाउने प्रक्रिया केही समय ढिलाइ भएको थियो। यसबीच एमाले संसदीय दलको सचिवालयबाट राजीनामा र समर्थन फिर्तासम्बन्धी पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। पत्रमा संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर भए पनि आधिकारिक छाप भने नरहेको बताइएको छ।
एमालेले पत्र सार्वजनिक भएको विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। मुख्यमन्त्री हेटौंडा फर्किएपछि राजीनामा र समर्थन फिर्ताको प्रक्रिया औपचारिक रूपमा टुंगिएको हो।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।