विराटनगर । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा काँग्रेस–एमाले गठबन्धन सरकारमा दरार आएसँगै सातै प्रदेशका सरकार फेरबदल हुने चर्चा सुरु भएको छ । काँग्रेस एमाले समीकरण परिवर्तन भएर क–कसको गठबन्धन होला भन्ने चर्चा पनि सुरु भएको छ ।
काँग्रेसका कतिपय नेताहरुले अबको समीकरण नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग हुने बताइरहेको छ । उता, एमालेले पनि नेकपालाई लक्षित गर्दै बामपन्थी मिल्नुपर्ने धारणा बेलाबेलामा राख्ने गरेको छ । यस्तै नेकपाले पनि बामपन्थीहरु (एमाले)सँग मिल्नुपर्ने धारणा राख्दै आएको छ ।
काँग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले केन्द्रको निर्देशनअनुसार आफूहरु अगाडि बढ्ने बताएका छन् । ‘सुदूरपश्चिम प्रदेश र कर्णालीको हावाले यता पनि छुन्छ जस्तो छ,’ कार्कीले भने, ‘त्यस्तो अवस्थामा केन्द्रले जे निर्णय दिन्छ हामी त्यही गर्छौं ।’
नयाँ सरकार निर्माण गर्ने तथा भएका सरकार जोगाउने कसरतमा काँग्रेस र एमाले लागेका छन् । सम्भवतः अब नयाँ गठबन्धन एमाले र नेकपाकै हुने सम्भावना बढी रहेको बताइएको छ । उक्त गठबन्धनमा जसपा, राप्रपा, जनमत पार्टी र तमलोपालगायतका पार्टीको भूमिका के हुन्छ भन्ने विषय पनि चासोका साथ हेरिएको छ ।
प्रदेश सभाको नयाँ तथ्याङ्कका आधारमा दुई फरक–फरक सम्भावित समीकरण काँग्रेस र नेकपाको बीचमा वा एमाले र नेकपाको बीचमा बन्नसक्ने देखिन्छ । त्यस्तो भएको अवस्थामा कुन–कुन प्रदेशमा कसको सरकार बन्न सक्छ र कहाँ अन्य दलहरूको भूमिका निर्णायक हुन्छ भन्ने विषयको विवरण यहाँ दिइएको छ ।
काँग्रेस र नेकपा मिल्दा
कोशी प्रदेशको कुल ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक छ । जसका लागि काँग्रेसका २९ र नेकपा १७ गरी ४६ जना हुन्छ । यो गठबन्धनलाई बहुमतका लागि थप १ सिट आवश्यक पर्छ । यसका लागि १ सिट भएको जसपा वा ५ सिट भएको राप्रपाको समर्थन आवश्यक छ ।
यस्तै मधेश प्रदेशमा कुल १०३ सदस्यीय संसदमा बहुमतका लागि ५२ सांसद आवश्यक पर्छ । जसमा काँग्रेसको २२ र नेकपा १५ गरी ३७ सिट मात्रै छ । यहाँ बहुमतका लागि थप १७ सिट आवश्यक पर्छ । त्यसैले जसपाको २८, जनमत १२ सांसद भएका मधेश केन्द्रित दलहरूको भूमिका विना सरकार गठन सम्भव देखिँदैन । यो प्रदेशमा नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको १–१ सिट रहेको छ । यद्यपि यो प्रदेशमा जसपाको नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।
बागमती प्रदेशमा कुल १०४ सदस्यीय प्रदेशसभा छ । जसको बहुमतका लागि ५३ जना आवश्यक छ । यो प्रदेशमा काँग्रेसका ३६ र नेकपाको २६ गरी ६२ सिट रहेको छ । यहाँ यो गठबन्धनसँग स्पष्ट र सहज बहुमत पुग्छ र सजिलै सरकार बन्न सक्छ ।
गण्डकी प्रदेशमा कुल ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । जसमा काँग्रेसका २७ र नेकपाका ७ गरी ३४ सांसद छन् । यहाँ पनि ३१ सिटको बहुमत सहजै पार हुने भएकाले काँग्रेस–नेकपाको सरकार सुरक्षित देखिन्छ ।
यस्तै ८३ सदस्यीय लुम्बिनी प्रदेशसभाको बहुमतका लागि ४२ सदस्य आवश्यक पर्छ । यो प्रदेशमा काँग्रेसका २७ र नेकपाका १३ गरी ४० सांसद रहेका छन् । बहुमतका लागि यो गठबन्धनलाई २ सिट अपुग हुन्छ । यहाँ राप्रपाका ४, जनमतको ३, वा जसपाको २, जसपा नेपालको ३ मध्ये कुनै दुई दलको साथ अनिवार्य चाहिन्छ । यो प्रदेशमा राष्ट्रिय जनमोर्चाको र स्वतन्त्र १–१ जना सांसद छन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभाको बहुमतका लागि २१ सांसद आवश्यक पर्छ । यो प्रदेशमा काँग्रेसका १४ र नेकपाको १४ गरी २८ सिट रहेको छ । यहाँ २१ को बहुमत सजिलै पार हुने भएकाले यो समीकरण निकै बलियो अवस्थामा रहनेछ ।
उता, सुदूरपश्चिम प्रदेशसभा ५२ सदस्यीय हो । यो प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा काँग्रेसका १८ र नेकपाको २२ गरी ४० सांसद छन् । यहाँ पनि बहुमत सजिलै पार हुने भएकाले सहजै सरकार गठन हुने देखिन्छ । यो प्रदेशमा राप्रपाको १ सिट रहेको छ ।
एमाले र नेकपा मिल्दा
यस्तै नेकपा एमाले र नेकपा गठबन्धन बन्दा कोशी, कर्णाली र बागमतीमा सहजै सरकार बनाउने अवस्था छ । अरु चार प्रदेशमा भने साना दलको वैशाखी अनिवार्य देखिएको छ । कोशी प्रदेशमा कुल ९३ सदस्यीय प्रदेशसभा भएपनि हाल कायम सांसद संख्या ९२ रहेको छ । जसमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । जसका लागि एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरण अन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ ।
मधेश प्रदेशमा कुल १०३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५२ सिट आवश्यक पर्छ । जहाँ एमालेको २४ र नेकपाको १५ सिट गरी ३९ सिट मात्रै छ । यहाँ बहुमतका लागि थप १५ सिट आवश्यक पर्छ । यसका लागि जसपाको २८ वा जनमत १२ सांसदको समर्थन बिना सरकार बन्न सक्दैन ।
उता, बागमती प्रदेशमा कूल १०४ सदस्यीय प्रदेशसभाको लागि बहुमत जुटाउन ५३ सांसद अनिवार्य हुन्छ । जुन प्रदेशमा एमालेको २६ र नेकपाको २६ गरी ५२ सिट रहेको छ । यो प्रदेशमा दुवै दलका लागि बहुमत पुर्याउन मात्र १ सिट अपुग हुन्छ । राप्रपा (१२), हाम्रो नेपाली पार्टी (२) वा नेमकिपा (३) को समर्थनमा मात्रै यहाँ सरकार गठन हुन सक्छ ।
उता, गण्डकी प्रदेशमा कुल ५९ सदस्यका लागि बहुमत पुर्याउन ३० सांसद चाहिन्छ । यो प्रदेशमा एमालेको २२ र नेकपाको ७ गरी २९ सिट रहेको छ । यो प्रदेशमा पनि बहुमतका लागि १ सिट अपुग हुन्छ । यहाँ २ सिट भएको राप्रपा र १ सिट भएको नेपाल समाजवादी पार्टी किङ्मेकर बन्नेछन् ।
यस्तै लुम्बिनी प्रदेशको कुल ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक छ । यो प्रदेशमा एमालेको २९ र नेकपाको सभामुखसहित १३ गरी ४२ सांसद पुग्छन् । यहाँ दुई पार्टीको ठिक्क बहुमत पुग्ने देखिए पनि सभामुखले मतदान गर्न पाउँदैनन् । जसका कारण यो प्रदेशमा जसपा नेपालको ३, जनमतको ३, राष्ट्रिय जनमोर्चाको १ र स्वतन्त्र १ सांसद छन् । ३ सिट भएको कुनै पनि दलले यो गठबन्धनलाई सहयोग नगरे सरकार बन्दैन ।
उता, ४० सदस्यीय कर्णाली प्रदेशमा बहुमत पुर्याउन २१ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेका १० र नेकपाका १४ सांसद गरी २४ सांसद छन् । यहाँ स्पष्ट बहुमत पुग्ने भएकाले वामपन्थी सरकार सहजै बन्छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको कूल ५२ सदस्यीय प्रदेशसभाको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा एमालेको ११ र नेकपाको २२ गरी ३३ सांसद छन् । यो प्रदेशमा एमाले र नेकपाको सहजै बहुमत पुग्ने देखिएको छ ।
यस्तै तथ्याङ्क केलाउँदा केही प्रदेशहरूमा ठूला दलहरू मिल्दा पनि साना दलहरूको भूमिका अपरिहार्य देखिन्छ । मधेश प्रदेशमा जसपाको समर्थन बिना कुनै पनि समीकरणले सरकार बनाउन सक्ने अवस्था छैन । लुम्बिनी प्रदेशमा दुवै समीकरणका लागि साना दलहरूको साथ अनिवार्य छ । यहाँ सत्ता सौदाबाजीमा साना दलहरू हाबी हुने देखिन्छन् । गण्डकी र बागमती प्रदेशमा वामपन्थी समीकरण बनेको खण्डमा साना दलहरूको भूमिका सरकार बनाउन र टिकाउन महत्वपूर्ण हुने देखिन्छ ।
कोशी प्रदेशमा काँग्रेस र नेकपाको समीकरण बनाए राप्रपा र जसपाको निर्णायक भूमिका देखिन्छ । अंकगणितका हिसाबले नेपाली काँग्रेस र नेकपा मिल्दा चार वटा प्रदेश बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिममा सहज बहुमत पुग्छ भने कोशी र लुम्बिनीमा साना पार्टीको समर्थनमा सरकार बन्न सक्छ ।
अर्कोतर्फ, एमाले र नेकपा मिल्दा वामपन्थी गठबन्धन अन्तर्गत कोशी, कर्णाली र सुदूरपश्चिममा मात्र स्पष्ट बहुमत पुग्छ भने बाँकी ४ वटा प्रदेश बागमती, गण्डकी, लुम्बिनी र मधेशमा साना दलको समर्थन जुटाउन कसरत गर्नुपर्ने देखिन्छ ।
हेर्नुहोस् दलहरुको सांसद संख्या:
कोशी प्रदेश:
एमाले: ४०
काँग्रेस: २९
नेकपा: १७
राप्रपा: ५ (सभामुखसहित)
जसपा: १
जम्मा प्रदेशसभा संख्या ९२ (बहुमत ४७)
मधेस प्रदेशः
एमाले: २४ (सभामुखसहित)
जसपा: २८
काँग्रेस: २२
नेकपा: १५
जनमत: १२
नेपाल संघीय समाजवादी: १
राप्रपा: १
जम्मा प्रदेशसभा संख्या १०३ (बहुमत ५२)
बागमती प्रदेश :
एमाले: २५
नेकपाः २६
काँग्रेस: ३६
राप्रपा : १२ (सभामुखसहित)
नेमकिपा: ३
हाम्रो नेपाली पार्टी: २
जम्मा प्रदेशसभा संख्या १०४ (बहुमत ५३)
गण्डकी प्रदेशः
एमालेः २२
काँग्रेस: २७
नेकपाः ७ (सभामुखसहित)
राप्रपा: २
नेपाल समाजवादी: १
जम्मा प्रदेशसभा संख्या ५९ (बहुमत ३०)
कर्णाली प्रदेश:
एमाले : १० (सभामुखसहित)
नेकपा : १४
काँग्रेस: १४
राप्रपा: १
स्वतन्त्र: १
जम्मा प्रदेशसभा संख्या ४० (बहुमत २१)
लुम्बिनी प्रदेश:
एमाले: २९
काँग्रेस: २७
नेकपा : १३ (सभामुखसहित)
राप्रपा : ४
जसपा नेपाल: ३
जनमत : ३
जसपा: २
राष्ट्रिय जनमोर्चा : १
स्वतन्त्र : १
जम्मा प्रदेशसभा संख्या ८३ (बहुमत ४२)
सुदूरपश्चिम प्रदेशः
एमालेः ११
नेकपा: २२ (सभामुखसहित)
काँग्रेस: १८
राप्रपा: १
जम्मा पदेशसभा ५२ (बहुमतका लागि चाहिने संख्या २७)

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।