लोड हुँदैछ...

मेनु

मूल्य घट्ने डरले व्यापारीद्वारा इन्धन खरिदमा कटौती

मूल्य घट्ने डरले व्यापारीद्वारा इन्धन खरिदमा कटौती

विराटनगर । अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य घट्ने आशंकामा नेपाल आयल निगमका आधिकारिक बिक्रेताहरूले इन्धन खरिदमा व्यापक कटौती गरेका छन् । मूल्य घट्दा हुन सक्ने सम्भावित नोक्सानीबाट बच्न व्यापारीहरूले पछिल्ला तीन दिनदेखि डिमाण्ड घटाएका हुन् ।

निगमको विराटनगरस्थित कोशी प्रादेशिक कार्यालयमा सोमबारदेखि नै इन्धनको माग घट्न थालेको छ । विराटनगर डिपोमा दैनिक औसत ५५० किलो लिटर डिजेलको माग हुने गरेकोमा मंगलबार ५० प्रतिशत र बुधबार करिब ६० प्रतिशतले गिरावट आएको छ । त्यस्तै, दैनिक २०० देखि २२० किलो लिटर बिक्री हुने पेट्रोलको माग पनि पछिल्ला दिनमा करिब १०० किलो लिटरमा झरेको प्रादेशिक कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिनुभयो ।

विराटनगरमा मात्र नभई यो समस्या देशभर देखिएको छ । धनुषा, अमलेखगञ्ज, पोखरा, धनगढी, भैरहवा र काठमाडौँको थानकोट डिपोमा समेत औसतभन्दा निकै कम इन्धन बिक्री भइरहेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले हरेक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्दछ । जुलाई १५ मा मूल्य थप घट्ने अनुमान गर्दै व्यापारीहरूले खरिद घटाएका हुन् । स्वचालित मूल्य प्रणालीका कारण मूल्य घट्दा हुने नोक्सानी व्यापारी स्वयंले बेहोर्नुपर्ने भएपछि उनीहरू सतर्क देखिएका हुन् ।

पम्पहरूले खरिद घटाउँदा बजारमा इन्धन अभाव हुन सक्ने जोखिमलाई ध्यानमा राखी निगमले अनुगमन तीव्र पारेको छ । कोशी प्रादेशिक कार्यालयका अनुसार अहिले पम्पहरूमा पर्याप्त मौज्दात रहेकाले तत्कालै अभाव हुने स्थिति छैन । निगमले बजारमा इन्धनको उपलब्धता सुनिश्चित गर्न निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

यता निगमका केन्द्रीय प्रवक्ता मनोज ठाकुरले देशभर इन्धनको आपूर्ति र बिक्री वितरणमा कुनै असामान्य असर नपरेको प्रतिक्रिया दिनुभएको छ । निगमले मागअनुसार देशभर इन्धन उपलब्ध गराइरहेको र उपभोक्तालाई समस्या हुन नदिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।