विराटनगर । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युको विषय शुक्रबार संघीय संसद्मा प्रमुख रूपमा उठेको छ।
सत्ता र प्रतिपक्षी दुवै पक्षका सांसदहरूले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैली, ट्राफिक जरिवाना नीति र महानगरपालिकाको व्यवहारमाथि गम्भीर प्रश्न उठाएका छन्।
विपक्षी दलहरूले घटनालाई राज्यको असंवेदनशील नीतिको परिणाम भन्दै निष्पक्ष छानबिन, जिम्मेवारी निर्धारण र मृतक परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन्। गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफूले चलाउने राइड सेयरिङ मोटरसाइकलमा काठमाडौं महानगरपालिकाले ह्विल लक लगाएर लैजान खोजेपछि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। उनी मुगुका स्थायी बासिन्दा भए पनि भक्तपुरमा श्रीमती र छोरीसँग बस्दै राइड सेयरिङ एपमार्फत जीविकोपार्जन गर्दै आएका थिए।
प्रतिनिधिसभामा नेकपाका नेता वर्षमान पुनले २०७९ सालमा संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यको प्रसंग स्मरण गराउँदै तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्यसबेला लेखेको सामाजिक सञ्जालको स्टाटस संसद्मा पढेर सुनाए। त्यतिबेला बालेनले लेखेको ‘आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो, यो राज्यको चरम असफलताको संकेत हो’ भन्ने अभिव्यक्ति उद्धृत गर्दै अहिले गणेश नेपालीको घटनामा पनि त्यही बुझाइ कायम छ कि छैन भन्ने प्रश्न गरे।
प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै पुनले राज्यका नीतिले नागरिकलाई निराश बनाउने अवस्था किन दोहोरिएको भन्दै जवाफ मागे । राज्यले यो घटनाको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले गणेश नेपालीको उपचारका नाममा सरकारले ‘स्टन्टबाजी’ गरेको आरोप लगाए। उनले आफू र कांग्रेस नेता भीष्मराज आङ्देम्बे बिहीबार राति वीर अस्पताल पुगेको र चिकित्सकहरूले त्यतिबेलै बिरामीको बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको जानकारी दिएको बताए। तर, सरकारले मृत्यु भइसकेपछि पनि उपचार भइरहेको भन्दै पत्रकार सम्मेलन गर्नु, नयाँ दिल्ली लैजाने तयारीको प्रचार गर्नु र गृहमन्त्री स्वयं अस्पताल पुगेर सक्रियता देखाउनु नाटकबाहेक केही नभएको उनको आरोप थियो।
नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको मात्र मृत्यु नभई राज्य प्रणालीमाथिको प्रश्न भएको बताइन् । उनले सरकारले ट्राफिक जरिवानाको वर्तमान नीतिको समीक्षा गर्नुपर्ने भन्दै यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्। जनतामाथि लागू गरिएका नीतिहरू कति व्यवहारिक छन् भन्ने विषयमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको बताइन्। उनले घटनाको सत्यतथ्य छानबिन गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीको मृत्यु राज्यको गलत नीतिको प्रतिफल भएको दाबी गरे। उनले ट्राफिक जरिवाना र कर प्रणालीले सर्वसाधारणलाई अत्यधिक आर्थिक बोझमा पारेको भन्दै ८‘काठमाडौं धनीहरूको मात्रै हो ?भन्ने प्रश्न गरे। युरोप र अमेरिकाको जस्तो कर असुल्ने तर त्यहाँजस्तो सुविधा नदिने अवस्थाले गरिब नागरिक काठमाडौंमा बाँच्नै कठिन भएको उनको भनाइ थियो।
उता राष्ट्रियसभामा सांसद नरबहादुर बिष्टले सरकारलाई ‘गरिबमारा’ र ‘राष्ट्र जलाएर आएको राक्षसी सरकार’को संज्ञा दिँदै कठोर आलोचना गरे। सरकारले नागरिकमाथि अत्यधिक दण्डात्मक नीति लागू गरेर जनता निराश हुने अवस्था सिर्जना गरेको उनले आरोप लगाए।
गणेश नेपालीको घटनाको निष्पक्ष अनुसन्धान गरी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उनले माग गरे। साथै, कैलालीको सुख्खड इलाका प्रहरी कार्यालयका डीएसपी प्रशन्नराज चौधरीलाई जिल्ला तानिएको विषयमा पनि उनले आपत्ति जनाए।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।