विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी लक्ष्य अनुसार संकलन हुन नसक्दा नगरस्तरीय र वडास्तरीय विकास योजनाहरुको भुक्तानी प्रक्रिया नराम्ररी प्रभावित भएको छ । चालु आर्थिक वर्षका लागि सञ्चालित अधिकांश योजनाहरुको भुक्तानी समयमै हुन नसक्दा निर्माण व्यवसायी र उपभोक्ता समितिहरु अन्यौलमा परेका छन् ।
महानगरपालिकाले हिजोसम्म संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त र विशेष अनुदान अन्तर्गतका योजनाहरुको मात्र रकम भुक्तानी गरेको छ । तर, महानगरको आफ्नै आन्तरिक स्रोतबाट खर्च बेहोर्ने गरी सञ्चालन गरिएका योजनाहरुको भुक्तानी भने बजेट अभावका कारण रोकिएको हो । आन्तरिक राजश्वको अवस्था कमजोर बनेपछि महानगरले आफ्ना प्राथमिकताका योजनाहरुलाई समेत भुक्तानी दिन सकेको छैन ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माका अनुसार स्थानीय तहले प्रयोग गर्ने ‘शुत्र’ सफ्टवेयरमा आएको प्राविधिक समस्याका कारण कतिपय भुक्तानी प्रक्रिया अघि बढ्न सकेनन् । उनले आन्तरिक स्रोतमा ठूलो दबाब परेकाले केही योजनाहरुको भुक्तानी आगामी आर्थिक वर्षका लागि सार्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको जानकारी दिए । “राजश्व संकलनको अवस्था र सफ्टवेयरको समस्याले गर्दा हामीले चाहेर पनि सबै भुक्तानी समयमा गर्न सकेनौं,” शर्माले भने ।
महानगरले चालु आर्थिक वर्षका लागि १ अर्ब ४१ करोड रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको मध्यसम्म लक्ष्य अनुसार प्रगति नभएपछि पुस अन्तिममा लक्ष्य संशोधन गरी १ अर्ब २७ करोड रुपैयाँमा झारिएको थियो । विडम्बना, असार २६ गतेसम्मको तथ्यांक हेर्दा महानगरले करिब ५७ करोड रुपैयाँ मात्र आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यो रकम संशोधित लक्ष्यको आधाभन्दा पनि कम हो ।
भुक्तानी रोकिनुमा राजश्वको कमी मात्र नभई प्राविधिक र प्रशासनिक ढिलासुस्ती पनि जिम्मेवार देखिएको छ । निर्माण सामग्रीको मूल्य वृद्धि भएका कारण ठेकेदारहरुले काम ढिला सुरु गरेका थिए, जसले गर्दा धेरै योजनाहरु आर्थिक वर्षको अन्त्यमा मात्र सम्पन्न भए । सम्पन्न भएका योजनाहरुको पनि समयमै जाँचपास हुन सकेन । अनुगमन गर्ने मुख्य जिम्मेवारी रहेकी उपप्रमुख शिल्पा निराला कार्की विदेश भ्रमणमा रहेका कारण कतिपय योजनाहरुको जाँचपास र मूल्याङ्कन प्रक्रिया अड्किएको महानगर स्रोतले जनाएको छ ।
असार २५ गते राति १२ बजेभित्र चालु वर्षको भुक्तानी दिइसक्नु पर्ने समय सीमा रहे पनि धेरै फाइलहरु अझै प्रक्रियामै छन् । हाल महानगरपालिकाले कति रकम बराबरको दायित्व भुक्तानी गर्न बाँकी छ भन्ने विवरण संकलन गरिरहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।