लोड हुँदैछ...

मेनु

भारततर्फ लैजाँदै गरेको कारबाट १९ किलो गाँजा बरामद

भारततर्फ लैजाँदै गरेको कारबाट १९ किलो गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरिएको एक कारबाट १९ किलो ३२० ग्राम गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद कार रोक्न खोज्दा चालक भने सवारीसाधन छाडेर अन्धकारको मौका छोप्दै फरार भएका छन्।

सशस्त्र प्रहरी बलका अनुसार बिहीबार राति करिब ८ः५० बजे जहदा गाउँपालिका–१ नयाँ बस्तीस्थित कुलरिया नाका क्षेत्रमा बा १२ च ७५५२ नम्बरको कार नियन्त्रणमा लिइएको हो। बोर्डर आउट पोस्ट (बीओपी) मधुमल्लाबाट सई भोलाबहादुर कार्कीको नेतृत्वमा मोटरसाइकल गस्तीमा खटिएको टोलीले भारततर्फ गइरहेको कारमाथि शंका लागेपछि रोक्न खोजेको थियो।

प्रहरी टोली नजिकिँदै गरेको देख्नासाथ चालक कार छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि गरिएको खानतलासीका क्रममा कारको सिटमुनि लुकाएर राखिएको १९ किलो ३२० ग्राम गाँजा बरामद भएको हो।

गाँजासँगै कागजमा प्याक गरिएको ६० ग्राम पहेँलो रङको शंकास्पद धुलो पनि फेला परेको छ। उक्त पदार्थको वास्तविक प्रकृति र प्रकार प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद गाँजा, शंकास्पद धुलो र कारलाई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

घटनापछि फरार चालकको खोजी तीव्र पारिएको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रवीण घिमिरेको नेतृत्वमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा बरामद लागूऔषध भारततर्फ तस्करी गर्ने उद्देश्यले लैजान खोजिएको आशंका गरिएको छ। प्रहरीले फरार चालकको पहिचान, लागूऔषधको स्रोत तथा यसमा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।