विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेस्थित साइनो बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना भएको छ ।
संस्थाको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परेका छन् भने अन्यमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लिम्बूलाई असार १० गते नियन्त्रणमा लिएर सहकारी ठगी तथा बचत रकम हिनामिनासम्बन्धी आरोपमा अनुसन्धान अघि बढाएको हो।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लिम्बूसहित सहकारीका ८ जना सञ्चालक तथा कर्मचारीविरुद्ध बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप लागेको छ। उनीहरूमध्ये अधिकांश फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारीबाट करिब ६ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको अनुमान गरिएको छ। यद्यपि हिनामिनाको वास्तविक रकम विस्तृत अनुसन्धान र लेखापरीक्षणपछि मात्रै यकिन हुने प्रहरीको भनाइ छ।
खिलमान राईसहित नौ जना बचतकर्ताले आफूहरूको १ करोड ८४ लाख रुपैयाँ बचत फिर्ता नपाएको भन्दै जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले सहकारीका पदाधिकारीमाथि अनुसन्धान सुरु गरेको हो।
यसअघि शिवसताक्षी नगरपालिकाले पनि सहकारीमा वित्तीय अनियमितता भएको निष्कर्षसहित छानबिन प्रतिवेदन तयार गरी आवश्यक कारबाहीका लागि प्रहरीलाई सिफारिस गरेको थियो। नगरपालिकाको प्रतिवेदन र बचतकर्ताको उजुरीलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले साइनो बचत तथा ऋण सहकारीबाट पीडित अन्य बचतकर्ता तथा शेयरधनीलाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ। अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दुर्गाबहादुर भट्टराईद्वारा जारी सार्वजनिक सूचनामा उक्त सहकारीमा विगतदेखि हालसम्म बचत वा शेयर लगानी गरेका सबैलाई ७ दिनभित्र जिल्ला प्रहरी कार्यालय झापामा उपस्थित हुन अनुरोध गरिएको छ। बचत पासबुक, नागरिकताको प्रतिलिपि, एफडी (स्थिर निक्षेप) कार्ड तथा सम्बन्धित अन्य कागजात साथमा ल्याउन भनिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवाले पक्राउ परेका अध्यक्ष लिम्बूमाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । फरार रहेका अन्य आरोपितको खोजी तीव्र पारिएको उनले जानकारी दिए।
प्रहरीले पीडितहरूको संख्या तथा हिनामिना भएको रकम अझै बढ्न सक्ने अनुमान गर्दै थप उजुरी र प्रमाण संकलनको काम जारी राखेको जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।