लोड हुँदैछ...

मेनु

हंसे दुम्से दुग्ध डेरीले दूध खरिदको २२ लाख नदिएको किसानको गुनासो

हंसे दुम्से दुग्ध डेरीले दूध खरिदको २२ लाख नदिएको किसानको गुनासो

झापा । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी प्रालि पशु उत्पादन तथा संकलन सहकारी संस्थाले दूध बिक्री गरेका किसानको २२ लाख बढी रुपैयाँ भुक्तानी नगरी कार्यालय बन्द गरेर सञ्चालक परार भएपछि किसानको विचल्ली भएको छ ।

पीडित किसानहरूले इलाका प्रशासन कार्यालय दमकलाई पूर्वसूचना दिएर डेरी कार्यालय परिसरमा शान्तिपूर्ण धर्ना तथा तालाबन्दी कार्यक्रमसमेत गरेका छन् । प्रशासनले पनि इलाका प्रहरी कार्यालय दमकलाई शान्ति सुरक्षा व्यवस्थापन गर्न पत्राचार गरेको छ । किसानहरूले आफ्नो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र एकमात्र उद्देश्य आफ्नो पसिनाको कमाइ फिर्ता पाउनु रहेको बताएका छन् ।

सञ्चालकहरु फरार भएपछि किसानहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा औपचारिक उजुरी दर्ता गरिसकेका छन् । उजुरीमा डेरीका वर्तमान अध्यक्ष हिमालय दाहाल, दमक–३, पूर्वअध्यक्ष गेहनाथ पोखरेल दमक–३, पुष्प ढकाल दमक–३, शान्तिराम भट्टराईलगायत जिम्मेवार व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

उनीहरूले संस्थाको बैंक खाता र सम्बन्धित व्यक्तिका व्यक्तिगत बैंक खातासमेत रोक्का गरी किसानको डुबेको रकम असुल गराइदिन माग गरेका छन् । उजुरीको विवरण अनुसार शान्तिराम भट्टराई, राजकुमार अधिकारी र कुलचन्द्र गौतमको खातामा संस्थाको मौजदात रकमलाई समेत रकमान्तर गरिएको भनिएको छ ।
दमक–३ का स्थानीय राजकुमार खड्गाका अनुसार हम्से दुम्से दुग्ध डेरीले लामो समयदेखि दूध संकलन गर्दै आएको थियो । प्रत्येक महिनाको दूधको भुक्तानी अर्को महिनाको १० गतेसम्म दिने व्यवस्था भए पनि पछिल्ला पाँच महिनादेखि डेरीले किसानलाई रकम भुक्तानी नगरेको उनको भनाइ छ । सुरुमा ‘बैंकमा समस्या छ’, ‘केही दिन पर्खिनुस्’ भन्दै आश्वासन दिए पनि पछि डेरी नै बन्द गरेर अध्यक्ष र सञ्चालकहरु नै फरार भएपछि आफूहरू ठगिएको किसानहरूको गुनासो छ ।

पीडित किसानले इलाका प्रशासनमा दिएको उजुरीअनुसार डेरीका सञ्चालकहरूले कार्यालय बन्द गरी सम्पर्कविहीन भएका छन् । डेरीको नाममा रहेको सवारीसाधन बिक्री गरेर रकम हिनामिना गरिएको, संस्थाको रकम व्यक्तिगत बैंक खातामा जम्मा गरी दुरुपयोग गरिएको तथा सरकारी अनुदानसमेत दुरुपयोग भएको आरोप उजुरीमा उल्लेख गरिएको छ । किसानहरूले यसलाई योजनाबद्ध र नियोजित आर्थिक अपचलन र किसान ठगी गरेको भनेका छन् ।

पीडित किसानका अनुसार हालसम्म करिब ६० जना किसानको २२ लाख ६५ हजार २०० रुपैयाँ बक्यौता रहेको छ । समग्रमा यस क्षेत्रका करिब २०० घरधुरी किसानको २२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको उनीहरूको दाबी छ । किसानहरूले रकम नपाउँदा गाईभैंसीका लागि दाना खरिद गर्न, घरखर्च चलाउन, छोराछोरीको शिक्षा खर्च जुटाउनसमेत समस्या परेको बताएका छन् । कतिपय किसान सहकारी र साहुबाट ऋण लिएर पशुपालन गरिरहेका कारण उनीहरू थप आर्थिक संकटमा परेका छन् ।

किसानले उजुरीमा बुझाएको विवरण अनुसार नरेन्द्र दाहालको २ महिनाको तलव बरावरको रकम, बुद्धिबहादुर विश्वकर्माको ३ लाखबढी, श्रीप्रसाद गुरागाईको २ लाख ३० हजार, रामप्रसाद अधिकारीको ९५ हजार, इन्दिरा घिमिरेको ७० हजार, रणबहादुर मगरको ७० हजार, देवीबहादुर भण्डारीको ६५ हजार, देवीप्रसाद भण्डारी, डिल्ली श्रेष्ठ, कोपिला श्रेष्ठ, कृष्णप्रसाद गुरागाई विरेन्द्र पोखरेलको ६०÷६० हजार, डोलेश्वर खनालको ५३ हजार भुक्तानी लिन बाँकी रहेको पिडित खड्गाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।