लोड हुँदैछ...

मेनु

पाँचथरको तीन वडामा रेबिज पुष्टि भएपछि फाल्गुनन्दमा उच्च सतर्कता

पाँचथरको तीन वडामा रेबिज पुष्टि भएपछि फाल्गुनन्दमा उच्च सतर्कता

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तीन वटा वडामा रेबिज संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

लगातार विभिन्न स्थानमा रेबिज संक्रमित कुकुर फेला पर्न थालेपछि गाउँपालिकाले जनस्वास्थ्य र पशु स्वास्थ्य दुवैलाई मध्यनजर गर्दै विशेष निगरानी तथा रोकथाम अभियान सुरु गरेको जनाएको छ।

गाउँपालिकाको वडा नम्बर १ को नवमीडाँडा क्षेत्रमा मरेको एक बेवारिसे कुकुरको प्रारम्भिक परीक्षणमा रेबिज संक्रमण पुष्टि भएको हो। यसअघि वडा नम्बर ६ र ७ मा मरेका कुकुरमा पनि रेबिज पुष्टि भइसकेको थियो। छोटो अवधिमै तीन वटा वडामा संक्रमण देखिएपछि स्थानीयमा त्रास फैलिएको छ।

फाल्गुनन्द गाउँपालिका–१ को साविक नवमीडाँडा–६ डिहिटार क्षेत्रमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको बेवारिसे कुकुर मरेपछि स्थानीयले गाउँपालिकाको पशुपन्छी सेवा शाखालाई जानकारी गराएका थिए। त्यसपछि पशुपन्छी सेवा शाखाको प्राविधिक टोली घटनास्थल पुगेर नमुना संकलन गरी प्रारम्भिक परीक्षण गरेको थियो। परीक्षणको नतिजामा रेबिज संक्रमण पुष्टि भएको गाउँपालिकाको पशुपन्छी सेवा शाखाका प्रमुख गोपाल घिमिरेले जानकारी दिए।

वडा नम्बर १ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेका अनुसार कुकुरले अस्वाभाविक व्यवहार देखाउन थालेपछि स्थानीयमा पहिले नै त्रास फैलिएको थियो। परीक्षणबाट रेबिज पुष्टि भएपछि नवमीडाँडा र आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन, बेवारिसे तथा शंकास्पद जनावरबाट टाढा रहन र तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको उनले बताए।

रेबिज संक्रमण फैलिन नदिन गाउँपालिकाले बेवारिसे कुकुरको व्यवस्थापन, घरपालुवा कुकुरलाई अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउने अभियान, तथा शंकास्पद जनावरको सम्पर्कमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ। पशु स्वास्थ्यकर्मीहरूले घरपालुवा जनावरमा असामान्य व्यवहार देखिएमा तुरुन्त पशु सेवा कार्यालयलाई खबर गर्न पनि आग्रह गरेका छन्।

स्वास्थ्यकर्मीका अनुसार रेबिज मानिस र जनावर दुवैका लागि अत्यन्त घातक रोग हो। संक्रमित जनावरले टोकेको, चिथोरेको वा र्‍याल खुलेको घाउमा लागेको आशंका भएमा घाउलाई कम्तीमा १५ मिनेटसम्म साबुनपानीले राम्रोसँग धुने र तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप तथा आवश्यक उपचार लिनुपर्ने उनीहरूको सुझाव छ।

गाउँपालिकाले संक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर थप परीक्षण, निगरानी र जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।