उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग नेतृत्वविहीन बनेपछि उद्योगको प्रशासनिक तथा आर्थिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छ।
निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकाशमा गएपछि नयाँ नेतृत्व नियुक्त हुन नसक्दा उद्योग सञ्चालनका आवश्यक निर्णयसमेत रोकिएका छन्।
असार २४ गते काफ्लेले औपचारिक रूपमा जिम्मेवारी छाडेपछि उद्योगमा निर्णय गर्ने अधिकारप्राप्त अधिकारी नरहेको कर्मचारीहरू बताउँछन्। उद्योगले नयाँ निमित्त महाप्रबन्धक नियुक्तिका लागि पाँच जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेपनि हालसम्म कुनै निर्णय हुन सकेको छैन।
उद्योगका सातौँ तहका कर्मचारी वीरबहादुर कार्कीका अनुसार आठौँ तहका कर्मचारी बैद्यनाथ झा, असल राई, कृष्ण केसी, टिका कुँवर र हरिप्रसाद सुदेवीको नाम मन्त्रालयमा पठाइएको छ। उनका अनुसार सुरुआतमा तीन जनाको मात्रै नाम सिफारिस गरिएको भएपनि पछि अन्य दुई जनाको नामसमेत थपिएको थियो।
कर्मचारी बैद्यनाथ झाले कार्यालय प्रमुख नहुँदा सामान्य प्रशासनिक कामसमेत प्रभावित भएको बताए। उनका अनुसार पत्राचारदेखि आर्थिक निर्णयसम्म सबै प्रक्रिया रोकिएको छ।
‘कुनै पत्र आउँछ भने त्यसको जवाफ कसले दिने रु निर्णय कसले गर्ने रु अहिले प्रशासनिक र आर्थिक दुवै काम ठप्प छन्। उद्योग चलाउने नेतृत्व नै छैन,’ उनले भने। द्योग लामो समयदेखि बन्द रहेकाले अधिकांश कर्मचारी कामविहीन छन्। उद्योगमा कार्यरत १७५ स्थायी कर्मचारीमध्ये धेरैजसो दैनिक उद्योग परिसरमै भेला भएर समय बिताउने गरेका छन्। उद्योग सुरक्षामा खटिएका ५८ जना सुरक्षाकर्मी भने नियमित ड्युटीमा छन्।
क्वार्टरमा दिनभर बस्नुभन्दा उद्योगमै आएर सहकर्मीहरूसँग भेटघाट र गफ गरेर समय बिताउने अवस्था बनेको कर्मचारीहरू बताउँछन्। नेतृत्व नहुँदा हाजिरी व्यवस्थापनसमेत अन्योलमा परेको उनीहरूको भनाइ छ।
व्यवस्थापन अभावका कारण उद्योगले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। प्याकिङका लागि आवश्यक बोरा खरिद गर्न नसक्दा करिब ६ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर गोदाममै थन्किएको कर्मचारीहरूले बताएका छन्।
लामो समयसम्म बिक्री हुन नसके ती सामग्रीको गुणस्तर घट्ने र नष्ट हुने जोखिम बढेको उनीहरूको भनाइ छ। ‘हामीसँग तयारी सिमेन्ट छ। तर बोरा किन्न नसक्दा प्याकिङ गरेर बजार पठाउन सकेका छैनौँ। मन्त्रालयले समयमै निर्णय नगर्दा करोडौँ रुपैयाँको सामग्री जोखिममा परेको छ,’ कर्मचारी झाले बताए।
लामो समयदेखि उद्योग सञ्चालन र नियमित मर्मतसम्भार हुन नसक्दा उद्योग परिसरको अवस्था पनि जीर्ण बन्दै गएको छ। उत्पादन शाखाका उपकरणमा लेउ पलाउन थालेको छ भने कार्यालय परिसर झारपातले ढाकिएको छ। विभिन्न मेसिन तथा कवाडी सामग्री यत्रतत्र छरिएका छन्। कर्मचारीहरूका अनुसार समयमै मर्मतसम्भार नगरिए करोडौँ रुपैयाँ मूल्यका मेसिनरीसमेत प्रयोगविहीन हुने जोखिम बढ्दै गएको छ।
उद्योगका कर्मचारीहरूले तत्काल नयाँ नेतृत्व नियुक्त गरी प्रशासनिक काम सुचारु गर्न, गोदाममा थन्किएको सिमेन्ट बिक्रीको व्यवस्था मिलाउन तथा उद्योग पुनः सञ्चालनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार उद्योग जति लामो समय नेतृत्वविहीन र बन्द रहन्छ, त्यति नै सरकारी लगानी, भौतिक संरचना र दक्ष जनशक्तिमा क्षति बढ्दै जानेछ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।