विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । अमेरिका र इरानबिचको युद्धविराम भंग भई सैन्य तनाव उत्कर्षमा पुगेपछि लको मूल्य निरन्तर उकालो लाग्न थालेको हो ।
विश्वव्यापी कच्चा तेल आपूर्तिमा लामो समयसम्म अवरोध आउन सक्ने डरका कारण तेलको मूल्य प्रतिब्यारेल झन्डै ८५ डलर नजिक पुगेको हो ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य बढेर प्रतिब्यारेल ८५ डलर नाघेको छ, जुन गत आइतबार ७६.०१ डलर मात्र थियो । यस्तै, अमेरिकी बजारको ‘वेस्ट टेक्सास इन्टरमिडिएट’को मूल्य पनि प्रतिब्यारेल ८० डलरको आसपास पुगेको छ।
पछिल्ला तीन दिनदेखि तेलको मूल्य लगातार बढिरहेको छ। गत हप्ता मध्यपूर्वमा तनाव कम हुने सङ्केत र ओपेक प्लस देशहरूको उत्पादन वृद्धिका कारण कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ७२ डलरसम्म ओर्लिएको थियो ।
शनिबारदेखि अमेरिका र इरानबिच शुरू भएको ताजा हवाई र मिसाइल आक्रमणको शृङ्खला तथा इरानद्वारा विश्वकै सबैभन्दा रणनीतिक तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने घोषणाले बजारलाई आतङ्कित बनाएको हो । विश्वको कुल कच्चा तेल र तरल प्राकृतिक ग्याँस आपूर्तिको करिब पाँचौँ हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने गर्दछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै इरान वार्ताको टेबुलमा नआए आगामी हप्ता त्यहाँका विद्युतगृह र पुलहरूमा समेत बमबारी गर्ने धम्की दिएपछि बजारमा अनिश्चितता झनै बढेको छ।
यसअघि ट्रम्पले हर्मुजबाट हिँड्ने अन्य देशका जहाजमाथि २० प्रतिशत कार्गो शुल्क लगाउने र इरानी जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए, जसको चौतर्फी आलोचना भएको थियो। तर मङ्गलवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले सो निर्णय फिर्ता लिँदै शुल्कको सट्टा खाडी मुलुकहरूले अमेरिकासँग ‘विशाल’ व्यापार र लगानी सम्झौता गर्ने बताए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।