विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो।
प्रदेशको समग्र मौसम बदली रहने प्रक्षेपण गरिए तापनि कोशी प्रदेशको पूर्वी तराई क्षेत्रमा भने आज बिहानको मौसम भिन्न देखिएको छ। विराटनगरसहित पूर्वी तराईका जिल्लाहरूमा बिहानैदेखि मौसम खुलेको छ र चर्को घाम लागिरहेको छ। चर्को घामका कारण यस क्षेत्रमा बिहानैदेखि गर्मी र उमस महसुस गरिएको छ।
यद्यपि, यो मौसम दिनभर कायम रहने देखिँदैन। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली भूभागका केही स्थान र पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा आज दिउँसो भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति पनि कोशी प्रदेशको मौसम पूर्ण रूपमा खुल्ने छैन। राति प्रदेशको पहाडी भूभाग तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको प्रभाव रहनेछ।
देशभर साधारणतया बादल लाग्ने र विभिन्न स्थानमा मध्यम वर्षा भइरहेकाले वर्षा र चट्याङ्गबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ। कोशी प्रदेशका तराई र पहाडी दुवै क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास बस्ने बासिन्दालाई विशेष सावधानी अपनाउन सुझाइएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।