लोड हुँदैछ...

मेनु

आफ्नो अपमान भएको भन्दै सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक

आफ्नो अपमान भएको भन्दै सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक

विराटनगर । प्रतिनिधिसभाको मंगलबारको बैठक सभामुख डोलप्रसाद अर्याल र नेकपा एमालेका सांसद राजेन्द्र राईबीच चर्किएको विवादका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

संसदमा बोल्ने क्रममा प्रयोग गरिएको भाषालाई लिएर सुरु भएको विवादले केहीबेर सदन तनावग्रस्त बनेको थियो।

बैठकमा एमाले सांसद राजेन्द्र राईले बोल्ने क्रममा सभामुखलाई लक्षित गर्दै ‘तपाईंले कान सुन्नु हुन्छ कि हुन्न’ भन्ने अभिव्यक्ति प्रयोग गरेपछि सभामुख अर्यालले त्यसप्रति आपत्ति जनाएका थिए। सभामुखले उक्त अभिव्यक्ति संसद र सभामुख संस्थाको अपहेलना हुने खालको भएको भन्दै सांसद राईलाई तत्काल बोल्न समय नदिने बताएका थिए।

विवाद सुरु हुनुअघि सभामुखले एमाले सांसद राईपछि बोल्न सांसद परशुराम तामाङलाई समय दिएका थिए। तर, तीन पटकसम्म नाम बोलाउँदा पनि तामाङ बोल्न उठेनन् । एमाले सांसदहरूले भने राईलाई बोल्न नदिएको भन्दै विरोध जनाउँदै उभिएका थिए। त्यसक्रममा सांसद राईले सभामुखप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाएका थिए।

सभामुख अर्यालले सांसद राईले प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संसदीय मर्यादा कायम राख्न आग्रह गरे। त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला ज्वालाले नियमापत्तिको सूचना उठाउँदै प्रतिनिधिसभा नियमावलीको व्यवस्था स्मरण गराइन्।

उनले नियमावलीको दफा २१ (खं) अनुसार सभामुखप्रति अपमानजनक वा असंसदीय भाषा प्रयोग गर्न नपाइने उल्लेख गर्दै ‘सभामुखलाई आँखा देख्नु हुन्छ कि हुन्न ? वा कान सुन्नुहुन्छ कि हुन्न ? भन्न मिल्छ कि मिल्दैन ?’ भन्ने प्रश्न उठाइन्। साथै, एमाले सांसद राईले प्रयोग गरेको सभामुखले कान सुन्नु हुन्छ कि हुन्न भन्ने अभिव्यक्ति संसदको अभिलेख (रेकर्ड)बाट हटाउन माग गरिन्।

त्यसपछि सभामुख अर्यालले सांसद राईले आफ्नो भाषा सुधार्ने र क्षमायाचनासहित बोल्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै पुनः बोल्न समय दिन तयार रहेको बताए। तर, समय पाएपछि सांसद राईले पुनः सभामुखको कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘आज अचम्म भयो। सभामुख आत्तिएर एउटा सदस्यले कुरा राखिरहँदा तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसरी पाँच वर्ष सदन चलाउन सक्नुहुन्न। मैले खुट्टी हेरिसकेँ। मैले के भन्न खोजेको थिएँ, त्यो सुन्नु परेन ।’ सांसद राईको अभिव्यक्तिपछि संसदमा पुनः होहल्ला र विवाद सिर्जना भयो। सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की हुन थालेपछि सभामुख अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरे।

पछिल्लो समय प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा जारी अवरोधकै बीच सभामुख र सांसदबीच भएको यो नयाँ विवादले प्रतिनिधिसभाको कार्यसूची प्रभावित भएको छ। संसदको गतिरोध अन्त्यका लागि भइरहेका प्रयासबीच संसदीय मर्यादा र सभामुखको भूमिकालाई लिएर नयाँ बहससमेत सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।