भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिका–३ च्याङग्रेमा सामान्य विवादले उग्र रूप लिँदा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार राति करिब १० बजे स्थानीय २७ वर्षीय धनकुमार राईमाथि सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धरानस्थित स्वास्थ्य संस्थामा रिफर गरिएको छ।
प्रहरीका अनुसार सामान्य भनाभनपछि विवाद झगडामा परिणत हुँदा घटना भएको हो।
घटनालगत्तै प्रहरीले खुकुरीसहित आरोपित गणेशबहादुर राईलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।