विराटनगर । इलाम कारागारभित्रबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएपछि त्यसको स्रोतबारे प्रशासनले अनुसन्धान थालेको छ।
जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार साँझ कारागारमा छापा मार्दा ठूलो परिमाणमा नगद फेला परेको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार कारागारका नाइके, चौकीदार र एक कैदीसँग रहेको ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ। बरामद रकममा २४ हजार भारतीय रुपैयाँसमेत रहेको छ ।
विशेष सूचनाका आधारमा गरिएको छापाका क्रममा कारागारको ७ नम्बर कोठाबाट उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रजिअ ढकालले बताए। उनका अनुसार कैदीबन्दीहरूले भने उक्त रकम आफूहरूले सुरक्षित राख्न नाइके र चौकीदारलाई दिएको दाबी गरेका छन्।
कारागारभित्र रहेका तीन व्यक्तिसँग यति ठूलो रकम कसरी संकलन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रजिअ ढकालले बताएका छन् ।
उनका अनुसार अनुसन्धानबाट रकम वैधानिक स्रोतबाट आएको पुष्टि भए सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ। तर अवैध कारोबार वा अन्य गैरकानुनी गतिविधिसँग सम्बन्ध देखिए कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।
घटनापछि कारागारभित्र हुने आर्थिक गतिविधि, सम्भावित अवैध कारोबार तथा नगद संकलनको प्रकृतिबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।