पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती तथा खेतीयोग्य जमिनलाई बाढी र कटानबाट जोगाउन २७६ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय, झापाले हेंवा खोलाको दुवै किनारमा तटबन्ध निर्माण गरेको हो।
आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीका अनुसार हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर गरी कुल २७६ मिटर लामो तथा तीन मिटर अग्लो तटबन्ध निर्माण गरिएको छ। तीन करोड रुपैयाँको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलामा २७६ मिटर र पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा थप २०० मिटर लामो तटबन्ध निर्माण गरेको हो।
विगत तीन वर्षदेखि बाढीले हेंवा खोलाको बहाव परिवर्तन गरेपछि व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा तीव्र कटान हुँदै आएको थियो। कटानका कारण सयौं रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै सिँचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका थिए।
हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बस्ती र कृषि भूमि जोगाउने उद्देश्यले यस वर्षदेखि तटबन्ध निर्माण सुरु गरिएको बताए। उनका अनुसार आगामी आर्थिक वर्ष २०८३र८४ मा पनि तटबन्ध विस्तारका लागि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको छ।
उनले स्थानीय तहको बजेटले मात्र यस्ता ठूला संरचना निर्माण सम्भव नभएकाले सङ्घीय सरकारसँग समन्वय गरेर बजेट ल्याउने पहल गरिएको र यस वर्ष कामको सुरुआत गर्न सफल भएको बताए।
यद्यपि स्थानीयवासीका अनुसार जोखिम पूर्ण रूपमा टरेको छैन। पछिल्लो समय तमोर नदीको बहाव बस्तीतर्फ मोडिन थालेपछि माझीटार थप जोखिममा परेको छ।
स्थानीय वीरबहादुर माझीले हेंवा खोलासँगै तमोर नदीतर्फ पनि तटबन्ध निर्माण गर्न आवश्यक भइसकेको बताए। उनका अनुसार एकातर्फ हेंवा खोलाले बर्सेनि कटान गरिरहेको छ भने अर्कोतर्फ तमोर नदीको बहाव बस्तीतर्फ सोझिँदै गएकाले दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न थप संरचना आवश्यक छ।
नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्ती तत्कालका लागि सुरक्षित बनेको बताए। माछाका परिकारका लागि प्रसिद्ध तथा पर्यटकको आकर्षण केन्द्र माझीटारमा बाढीको जोखिमका कारण स्थानीयवासी र व्यवसायी चिन्तित बनेका थिए।
उनले तत्कालका लागि राहत मिले पनि दीर्घकालीन रूपमा बस्ती, कृषि क्षेत्र र पर्यटकीय क्षेत्रको सुरक्षा सुनिश्चित गर्न थप व्यवस्थित तटबन्ध तथा नदी नियन्त्रणका संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।