धनकुटा । धनकुटाको प्रमुख दाहसंस्कार स्थल मुलघाटमा सोमबार आएको आकस्मिक बाढीले नदी किनारमा जल्दै गरेको चिता बगाएको छ ।
वर्षासँगै तमोर नदीमा पानीको सतह अचानक बढ्दा शव जलाइरहेकै अवस्थामा चिता बगाएपछि केही समय दाहसंस्कार कार्य नै प्रभावित भएको थियो ।
धनकुटा नगरपालिका–६ आत्माराका गौरी रोक्काको दाहसंस्कार भइरहेका बेला नदीको बहाव ह्वात्तै बढेको थियो । प्रत्यक्षदर्शी एवं त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार सो समयमा मुलघाटमा चारवटा शवको दाहसंस्कार भइरहेको थियो । तीमध्ये ७५ प्रतिशत जलिसकेको रोक्काको चिता बाढीले बगाएर नदीको बीच भागमा पुर्याएको थियो ।
‘नदीको बहाव सामान्य देखिएकै अवस्थामा चिता जलाइएको थियो, तर केही समयमै माथिबाट ठूलो पानी आएपछि सतह ह्वात्तै बढ्यो,’ पोख्रेलले भने, ‘हेर्दाहेर्दै जल्दै गरेको चिता बगेर नदीको बीच भागमा पुग्यो ।’ बाढीले अर्को एउटा चितालाई पनि पल्टाएको थियो ।
त्यसपछि मलामीहरूले तत्काल शवलाई सुरक्षित स्थानमा सारेर नदीभन्दा माथिल्लो भागमा नयाँ चिता बनाई दाहसंस्कार सम्पन्न गरेका थिए ।
मुलघाट धनकुटाको मुख्य मसानघाट भए पनि वर्षायाममा यहाँ सधैं जोखिम हुने गरेको छ । यहाँ निर्माण गरिएको डिजेलबाट चल्ने आधुनिक दाहसंस्कार घर केही वर्षअघिको बाढीले क्षतिग्रस्त बनाएपछि सञ्चालनमा छैन । जसका कारण स्थानीय बासिन्दा जोखिम मोलेरै नदी किनारमा दाहसंस्कार गर्न बाध्य छन् ।
सुरक्षित दाहसंस्कारका लागि स्थायी संरचना निर्माण गर्नुपर्ने माग स्थानीयले वर्षौंदेखि उठाउँदै आएका छन् । यद्यपि, हालसम्म प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । सशस्त्र प्रहरी बलको टोलीले सो क्षेत्रमा सुरक्षा र उद्धारका लागि बेस क्याम्प खडा गरे पनि भौगोलिक विकटता र नदीको अनियन्त्रित बहावका कारण बर्सेनि यस्ता जोखिमपूर्ण घटना हुने गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।