लोड हुँदैछ...

मेनु

खेलकुद बोर्डमा कार्यक्रममा छेडछाड :  सदस्य सचिव घोष र ट्रष्टका अध्यक्ष शाहीबीच आरोप–प्रत्यारोप

खेलकुद बोर्डमा कार्यक्रममा छेडछाड :  सदस्य सचिव घोष र ट्रष्टका अध्यक्ष शाहीबीच आरोप–प्रत्यारोप

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोर शाहीबीच एक सार्वजनिक कार्यक्रममै आरोप–प्रत्यारोप भएको छ । मंगलबार विराटनगरमा आयोजित खेलकुद क्षेत्रको अन्तरक्रिया कार्यक्रममा दुई पदाधिकारीबीच छेडछाड चलेको हो ।

खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको सहभागिताका विषयमा आयोजित छलफलमा ट्रस्टका अध्यक्ष शाहीले बोर्ड र प्रदेश सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए । उनले प्रदेश खेलकुद बोर्डमा राजनीतिक हस्तक्षेप बढेको र यसले खेल क्षेत्रको विकासमा बाधा पुर्‍याएको दाबी गरे ।

शाहीले कार्यक्रमको उद्घाटन सत्रमा मन्त्रीहरू सम्बोधन गरेर हिँडेको विषयमा पनि कडा विरोध जनाए । भौतिक पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवार, भूमि व्यवस्था तथा कृषि मन्त्री इस्मायल अन्सारी र सामाजिक विकास मन्त्री रामप्रसाद मेहता खेलकुदका समस्या नसुनी कार्यक्रमबाट बाहिरिएपछि हलभित्र सहभागीहरूले होहल्ला समेत गरेका थिए । ‘‘निजी क्षेत्रसँग खेलकुद सम्बन्धी धेरै गुनासा र सुझाव छन्, मन्त्रीहरूले बसेर ती कुरा सुन्नुपर्थ्यो,’ शाहीले भने ।

शाहीको आलोचना र प्रश्नपछि मञ्चबाट जवाफ दिन उभिएका सदस्य सचिव घोष निकै आक्रामक रूपमा प्रस्तुत भए । उनले शाहीलाई ‘आफ्नो चरित्र ऐनामा हेर्न’ चुनौती दिँदै विगतमा राजनीतिक नियुक्तिका लागि शक्ति केन्द्र धाएको आरोप लगाए ।
‘तपाईं यहाँ बसेर ठुलो कुरा गर्नुहुन्छ, प्रदेश खेलकुदको विकासमा कांग्रेस–एमालेले नियुक्ति गर्‍यो भन्नुहुन्छ,’ सदस्य सचिव घोषले भने, ‘तपाईं आफ्नो ऐनामा गएर चरित्र हेर्नुस्, तपाईं त्यही प्रदेश खेलकुदको उपाध्यक्ष खानका लागि नेकपा एमालेको सिफारिस लिएर जानुभएको होइन ? हिजोका मुख्यमन्त्रीहरूको घर–घर पुगेर मलाई परिषद्को सदस्य वा उपाध्यक्ष बनाइदिनुस् भनेर प्याकेज लिएर हिँडेको हामी साक्षी छौं ।’

घोषले खेलकुद क्षेत्रमा खेल बुझेकै मान्छे आउनुपर्ने र यसलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने तर्क गरे । आफू ३०–३५ वर्षदेखि खेल क्षेत्रमै सङ्घर्ष गरेर आएको दाबी गर्दै उनले भने, ‘हामी खेलकुद विधाका मान्छे हौं । हामीलाई मेडिकलमा राखिदियो भने सुई हान्न आउँदैन, खेलकुद नै खेलाउन आउँछ ।’

सदस्य सचिव घोषले बजेटको सीमितता र खेल सङ्घहरूको असहयोगप्रति पनि असन्तुष्टि व्यक्त गरे । पर्यटन मन्त्रालयबाट ४ करोड मात्र बजेट प्राप्त भएको र त्यसलाई सबै विधामा बाँड्नुपर्ने बाध्यता सुनाउँदै उनले कतिपय खेल सङ्घका पदाधिकारीले फोन समेत नउठाउने गरेको गुनासो गरे । ‘हामीले २०० जनालाई पत्राचार गर्दा सिमित मात्र आउनुभयो । कतिपय खेल सङ्घका मान्छे फोन उठाउँदैनन्,’ उनले थपे, ‘बजेटको दुरुपयोग भएको छ भने खबरदारी गर्ने अधिकार तपाईंहरूको छ, तर व्यक्तिगत स्वार्थ पूरा नहुँदा संस्थालाई प्रहार गर्न पाइँदैन ।’

कार्यक्रममा हक्की, तेक्वान्दो लगायतका खेलहरूको पूर्वाधार अभाव र जीर्ण अवस्थाबारे पनि सहभागीहरूले जिज्ञासा राखेका थिए । घोषले हक्कीको अवस्था देशभर नै कमजोर रहेको स्वीकार गर्दै पूर्वाधार निर्माणका लागि बोर्ड प्रयासरत रहेको बताए । उनले आफ्नो कार्यकाल सकिएपछि मात्रै कामको मूल्याङ्कन गर्न आग्रह गर्दै भने, ‘हामी काम गर्न आएका हौं । कार्यकाल सकिएपछि हामी तारिफको लायक छौं कि छैनौं, त्यतिबेला भन्नुहोला ।’

अन्तरक्रियामा सहभागी अन्य खेलकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरूले भने खेलकुदको विकासका लागि सरकारी निकाय, खेल सङ्घ र निजी क्षेत्रबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।