लोड हुँदैछ...

मेनु

कोशी प्रदेशसभामा उठ्यो अघोषित लोडसेडिङको मुद्दा

किसानहरुले सिंचाइ सुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण

किसानहरुले सिंचाइ सुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्या, लोडसेडिङ, स्वास्थ्य बिमाको प्रभावकारिता र शान्ति सुरक्षा लगायतका जनसरोकारका मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकमा विशेष गरी किसानको समस्यालाई प्राथमिकता दिँदै सांसद गणेशप्रसाद उप्रेतीले मुलुकमा पुनः लोडसेडिङको ‘आतंक’ सुरु भएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले प्रचण्ड प्रधानमन्त्री र कुलमान घिसिङ कार्यकारी हुँदा अन्त्य भएको लोडसेडिङ अहिले फेरि बल्झिँदा तराईका किसानहरू सबैभन्दा धेरै मारमा परेको उल्लेख गर्नुभयो। “तराईमा वर्षमा दुई पटक धान उत्पादन हुन्छ, जसका लागि भूमिगत सिँचाइ अनिवार्य छ,” उप्रेतीले भन्नुभयो, “विद्युत अभावमा किसानले सिँचाइ गर्न पाएका छैनन्। तत्काल विद्युत प्राधिकरणसँग समन्वय गरी ट्रान्समिटर जडान र विद्युत विस्तारमा विशेष कार्यक्रम ल्याउन म अपिल गर्दछु।”

यसैगरी, सांसद बन्दना झाँगडले कोशी प्रदेशमा स्वास्थ्य बिमामा आबद्ध भए पनि नागरिकले उपचार र औषधि पाउन नसकेको गुनासो गर्नुभयो। बिमाप्रति नागरिकको विश्वास गुम्दै गएको भन्दै उहाँले अस्पतालहरूमा देखिएको बेथिति अन्त्य गर्न र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रदेश सरकारसँग माग गर्नुभयो।

खानेपानीको समस्याबारे बोल्दै सांसद गितादेवी रेग्मीले त्रियुगा नगरपालिका–१ जोगिदहमा २०७३ सालदेखि निर्माणाधीन खानेपानी ट्याङ्कीको अवस्थाबारे सरकारलाई सचेत गराउनुभयो। १ करोड ४८ लाख खर्च भइसक्दा पनि आयोजना सञ्चालनमा नआउनु र मन्त्रीको अनुगमन पछि पनि खरिद प्रक्रिया अघि नबढ्नु दुखद भएको उहाँको तर्क थियो।

शान्ति सुरक्षाको विषयमा सांसद मिना श्रेष्ठले सुनसरीको इटहरी लगायतका क्षेत्रमा बढ्दै गएको चोरी र असुरक्षाप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्रहरीको रात्री गस्ती बढाउन र स्थानीय तहसँगको समन्वयमा आधुनिक निगरानी प्रणाली (सीसीटीभी) जडान गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्नुभयो।

पूर्वाधारतर्फ सांसद बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको खुम्बु पासाङल्यामु सडक र माप्य दुधकोशीको पुल निर्माणमा भएको उपेक्षाप्रति आक्रोश पोख्नुभयो। पर्यटकीय क्षेत्र भएर पनि सडकमा डोरीले गाडी तान्नुपर्ने अवस्था रहेको भन्दै उहाँले बजेट विनियोजनमा हुने विभेद अन्त्य गर्न आग्रह गर्नुभयो।

बैठकमा सांसद गोपालबहादुर विश्वकर्माले पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै देश निर्माणमा राजाहरूको योगदानलाई भुल्न नहुने र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नुपर्ने धारणा राख्नुभएको थियो। शून्य समयमा उठेका यी विषयहरूमा सरकारले तत्काल जवाफ दिनुपर्ने र समस्या समाधानका लागि कदम चाल्नुपर्ने माग सांसदहरूको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।