विराटनगर । कोशी प्रदेश सरकारको मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारको चर्को आलोचना गर्दै वर्तमान कार्यशैलीको ‘हुर्मत’ लिनुभएको छ। मंगलबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कार्कीले संघीय सरकारले प्रदेशको अधिकार मिच्दा पनि प्रदेश सरकार लाचार बनेको भन्दै कडा आक्रोश पोख्नुभयो।
“१०० दिनसम्म संघीय सरकारको विरोध नगरी ‘हनिमुन पिरियड’ मानेर बस्यौं, तर अब चुप बस्दैनौं,” कार्कीले भन्नुभयो, “सरकारमा भएकाहरूले प्रदेशको अधिकार मिच्दा पनि हामी चुप लाग्यौं भने हामी ‘लास र दास’ हौं। प्रदेशसभा केवल भौतिक विकासको बहस गर्ने थलो मात्र होइन, यो राज्यको संवैधानिक अभिन्न अंग हो।” उहाँले प्रधानमन्त्रीले प्रदेशलाई बलियो बनाउँछु भनेर मत लिने तर पार्टीको महाधिवेशनबाट प्रदेश खारेजीको कुरा गर्ने द्वैध चरित्र देखाएको आरोप लगाउनुभयो। संविधान संशोधनको नाममा संविधानले नचिनेको समितिले बोलाएको बैठकमा जानु नेताहरूको लाचारी भएको उहाँको तर्क थियो।
नेता कार्कीले मन्त्री सुनिल लम्सालको विवादास्पद अभिव्यक्तिको कडा प्रतिवाद गर्दै भन्नुभयो, “मन्त्रीले खुट्टा भाँच्छौं, थुन्छौं भन्दै हिँड्ने? हामी मारिन वा थुनिन डराउँदैनौं।” उहाँले आफ्नै निर्वाचन क्षेत्र विराटनगर-६ मा वित्तीय हस्तान्तरण भएको बजेटमा संघीय सांसद निशा श्रेष्ठले काम नगरेको दृष्टान्त दिँदै प्रश्न गर्नुभयो, “काम नगर्नेको खुट्टा तपाईं भाँच्नुहुन्छ कि म भाँडिदिउँ? अन्यायको पराकाष्ठा नाघेपछि त्यसको असर आफूतिरै फर्किन्छ भन्ने हेक्का रहोस्।”
विश्वविद्यालयका उपकुलपति (भिसि) र रजिष्ट्रार हटाएको प्रसंगमा उहाँले ‘हम करे तो रासलीला, तुम करे तो क्यारेक्टर ढिला’ भन्ने उखान प्रयोग गर्दै सरकारको दोहोरो मापदण्डको आलोचना गर्नुभयो। “हामीले नियुक्ति गर्दा राजनीतिक हुने, तपाईंले गर्दा ठिक हुने?” उहाँले प्रश्न गर्नुभयो।
बजेट र विकासको सन्दर्भमा बोल्दै कार्कीले सरकार सुकुम्बासी र विपन्नप्रति अनुदार बनेको आरोप लगाउनुभयो। बागमती प्रदेश सरकारले कडा रोगको उपचारमा सहयोग गरेको उदाहरण दिँदै उहाँले कोशी सरकारले बालबालिकाको उपचार र कडा रोगको उपचारमा बजेट नछुट्याएकोमा आपत्ति जनाउनुभयो। “हिजो प्रतिपक्षमा हुँदा बालबालिकाको उपचारका लागि रुनेहरू आज सत्तामा पुग्दा किन मौन? विशेषज्ञ नै नभएका अस्पतालमा बजेट पठाएर के गर्न खोजिएको हो?” उहाँले प्रश्न गर्नुभयो।
धार्मिक र सांस्कृतिक पहिचानका क्षेत्रमा पनि बजेट कटौती गरिएकोमा उहाँको विशेष असन्तुष्टि थियो। “यो प्रदेशको शिर मानिने खुवालुङ, फाल्गुनन्द, पाथीभरा र हलेसीको बजेट किन काटियो? के ती क्षेत्रका सांसद नभएर बजेट घटाइएको हो?” उहाँले नीति तथा कार्यक्रममा भएका विषय बजेटमा हराएकोमा सरकारको नियतमाथि शंका व्यक्त गर्नुभयो।
अन्तमा, नेता कार्कीले समाजमा युवाको नाममा गलत द्वन्द्व फैलाउन खोजिएको र संघीय सरकार गलत बाटोमा जाँदा प्रदेशले करेक्सन गर्नुपर्नेमा जोड दिनुभयो। सेनाको संख्या घटाउने कुरामा सरकार मौन रहेको र जनआकांक्षा सम्बोधन गर्न नसकेको भन्दै उहाँले संसदीय मर्यादा र प्रक्रियामा रहेर जनताका पक्षमा काम गर्न सरकारलाई चेतावनी दिनुभएको छ। उहाँको यो सम्बोधनले कोशी प्रदेशको सत्तारुढ गठबन्धनभित्रको आन्तरिक कलह र असन्तुष्टिलाई प्रष्ट सतहमा ल्याइदिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।