विराटनगर । फिफा विश्वकप २०२६ को रोमाञ्चक नकआउट चरणको समाप्तिसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । विश्वकपको अन्तिम आठमा साविक विजेता अर्जेन्टिना, साविक उपविजेता फ्रान्ससहित युरोप र अफ्रिकाका बलिया टोलीहरूले स्थान सुरक्षित गरेका छन् ।
यस पटकको क्वाटरफाइनलमा केही पुराना प्रतिद्वन्द्वीबीचको रोचक भिडन्त हुनेछ भने केही टोलीहरू लामो समयको अन्तरालपछि यो चरणमा आइपुगेका छन् ।
यी हुन् क्वाटरफाइनलका रोचक भिडन्तहरू:
१. फ्रान्स विरुद्ध मोरक्को (जुलाई १०, बिहान ०१:४५ बजे)
क्वाटरफाइनलको पहिलो खेलमै सन् २०२२ को विश्वकपको सेमिफाइनल ‘रिम्याच’ हुने भएको छ । साविक उपविजेता फ्रान्स र अफ्रिकी पावरहाउस मोरक्को सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् । चार वर्षअघि कतारमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गरेको थियो । मोरक्को यसपटक उक्त हारको बदला लिँदै अघि बढ्ने दाउमा हुनेछ ।
२. स्पेन विरुद्ध बेल्जियम (जुलाई ११, बिहान ००:४५ बजे)
दोस्रो क्वाटरफाइनलमा दुई युरोपियन महारथी स्पेन र बेल्जियम भिड्नेछन् । सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि क्वाटरफाइनलमा पुगेको हो । उता, सन् २०१८ को सेमिफाइनलिस्ट बेल्जियम ८ वर्षपछि यो चरणमा फर्किएको छ । दुवै टोलीका लागि यो खेल आफ्नो साख फर्काउने अवसर हुनेछ ।
३. इंग्ल्यान्ड विरुद्ध नर्वे (जुलाई १२, बिहान ०२:४५ बजे)
तेस्रो क्वाटरफाइनलमा ऐतिहासिक मोड देखिएको छ । पहिलो पटक क्वाटरफाइनल पुगेको नर्वेले सन् १९६६ को विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिल जस्तो बलियो टोलीलाई हराएर सनसनी मच्चाएको छ । इंग्ल्यान्ड भने ६ दशक लामो उपाधि खडेरी तोड्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
४. अर्जेन्टिना विरुद्ध स्विट्जरल्यान्ड (जुलाई १२, बिहान ०६:४५ बजे)
अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ६४ वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने अभियानमा रहेको लियोनेल मेसीको अर्जेन्टिनाका लागि यो खेल महत्त्वपूर्ण छ । स्विट्जरल्यान्ड भने ७२ वर्षको लामो पर्खाइपछि पहिलो पटक सेमीफाइनलमा प्रवेश गर्दै इतिहास रच्ने तयारीमा छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।