लोड हुँदैछ...

मेनु

सुनसरीमा पेस्तोल र गोलीसहित विराटनगरका दुई जना पक्राउ

सुनसरीमा पेस्तोल र गोलीसहित विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिकाबाट प्रहरीले स्वचालित चाइनिज पेस्तोल र गोलीसहित विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१७ रानी बस्ती बस्ने ५१ वर्षीय नुर महोमद र विराटनगर–८ अशोक चोक बस्ने ३२ वर्षीय इम्रान खान रहेका छन् । उनीहरूलाई सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट असार २४ गते राति पक्राउ गरिएको हो ।

अस्थायी प्रहरी चौकी चाँदबेलाबाट राति करिब १:२० बजेको समयमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरूलाई रोकेर खानतलासी गरेको थियो । सो क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

हतियारसहित फेला परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ । उनीहरूले सो हतियार कुन प्रयोजनका लागि बोकेका थिए र उनीहरूको योजना के थियो भन्नेबारे सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।