विराटनगर । गृहमन्त्री सुधन गुरुङले झापा भ्रमणका क्रममा सुरक्षाकर्मीहरूको मोबाइल नियन्त्रणमा लिएको भनी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय झापाले गम्भीर आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान पौने ९ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो ।
गत असार २१ गते गृहमन्त्री गुरुङले झापाको काँकडभिट्टा नाकाको निरीक्षण गरेका थिए । सोही निरीक्षणका क्रममा गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित सुरक्षाकर्मीहरूको मोबाइल नियन्त्रणमा लिएको र तस्करीमा संलग्नताको आशङ्कामा उनीहरूलाई निगरानीमा राखिएको भन्ने आशयका सामग्रीहरू सार्वजनिक भएका थिए ।
झापा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रुञ्जन अवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “माननीय गृहमन्त्रीज्यूले सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको तथा प्रहरीहरूलाई निगरानीमा राखिएको भन्ने विषयमा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी कार्यालय झापाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचार पूर्णतया भ्रामक र निराधार भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”
प्रहरीले एकाबिहानै विज्ञप्ति जारी गर्दै पुष्टि नभएका र आधारहीन सूचनाहरू सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल समेत गरेको छ ।
गृहमन्त्रीको सीमा निरीक्षणलाई लिएर फैलाइएका हल्लाले सुरक्षा निकायको मनोबलमा असर पुग्ने भन्दै झापा प्रहरीले यस्ता भ्रामक सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । यसअघि गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई कडा निर्देशन दिएका थिए, जसलाई गलत ढङ्गले व्याख्या गरी अफवाह फैलाइएको प्रहरीको दाबी छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।