विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन् । आफ्नै घरमा काम गर्ने १५ वर्षीय किशोरको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
घटना विवरण अनुसार, आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते शंकास्पद अवस्थामा मृत फेला परेका थिए । सुतेकै स्थानमा नाक र मुखबाट रगत बगेको अवस्थामा किशोरको शव भेटिएपछि सोही दिन मृतकका बुवा खेमबहादुर आङदेम्बेले ज्यान सम्बन्धी कसुरमा उजुरी दिएका थिए ।
प्रकरणले नयाँ मोड तब लियो, जब २०८३ असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले वडा अध्यक्ष आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत पाँचथरले असार १० गते पक्राउ अनुमति जारी गरेको थियो ।
अदालतको अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले आङदेम्बेलाई असार २३ गते फिदिम नगरपालिका–४, फिदिम बजारबाट पक्राउ गरेको हो । पक्राउ परेका वडा अध्यक्षलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराई सात दिनको म्याद थप अनुमति लिइएको छ ।
हाल आङदेम्बेलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई वर्षअघिको यो घटनामा वडा अध्यक्षको संलग्नताबारे प्रहरीले गम्भीरतापूर्वक छानबिन गरिरहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।