तेह्रथुम । जलवायु परिवर्तन, वन विनाश र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण पारिस्थितिक प्रणालीमा बढ्दो असर न्यूनीकरण गर्न तेह्रथुममा वृक्षरोपण अभियान सञ्चालन गरिएको छ।
समुदायको सक्रिय सहभागितामा छथर गाउँपालिकाका दुई सामुदायिक वनमा गुराँस, चापसहित १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ तेह्रथुमको व्यवस्थापन तथा ग्लोबल ल्यान्डस्केप फोरमको सहयोगमा सञ्चालित समुदायको नेतृत्वमा पारिस्थितिक प्रणाली पुनर्स्थापना तथा जीविकोपार्जन सुधार परियोजना’अन्तर्गत बृक्षारोपण गरिएको हो । छथर –१ स्थित मार्गपोखरी सामुदायिक वन र वडा नं।–२ को पञ्चकन्यादेवी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ।
परियोजनाअन्तर्गत गुराँस, चाप तथा स्थानीय हावापानीसँग अनुकूल हुने विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। यी बिरुवाले वन क्षेत्रको हरियाली विस्तार, माटो संरक्षण, पानीका मुहानको सुरक्षा, वन्यजन्तुको बासस्थान संरक्षण तथा जैविक विविधता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
मार्गपोखरी सामुदायिक वनका अध्यक्ष साङ्गे सेर्पाले मार्गपोखरीलाई दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यअनुसार गुराँस र चापका बिरुवा रोपिएको बताए। उनका अनुसार गुराँस फुल्ने वातावरण बनेपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने, जसबाट स्थानीय पर्यटन प्रवर्द्धनसँगै समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
फेकोफन तेह्रथुमका अध्यक्ष बुद्धिमान खुलालका अनुसार परियोजनाको मुख्य उद्देश्य वनको पारिस्थितिक प्रणाली पुनर्स्थापना गर्नुका साथै वनमा आधारित दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्नु हो। उनले छथर गाउँपालिकाबाट सुरु भएको अभियान आगामी वर्षहरूमा जिल्लाका अन्य उपयुक्त सामुदायिक वनमा समेत विस्तार गरिने बताए।
वन संरक्षण र स्थानीय समुदायको आर्थिक सुदृढीकरण एकअर्कासँग अन्तरसम्बन्धित भएकाले परियोजनाले वातावरण संरक्षणसँगै आयआर्जनका अवसर सिर्जना गर्ने, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने तथा प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।