विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा गएराति नेपाल विद्युत प्राधिकरणको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको विद्युत प्राधिकरण धरान वितरण केन्द्रको बा १ ञ १६५१ नम्बरको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी भ्यान चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भ्यानमै सवार धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय पवन राई घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । राति अनियन्त्रित भई सडकमा पल्टिएको उक्त भ्यानका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।