लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा मनसुन सक्रिय: तराई र पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा मनसुन सक्रिय: तराई र पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशमा यसको असर बढी देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको तराई भू-भाग नजिक रहेकाले कोशी प्रदेशका अधिकांश स्थानमा वर्षा र बदलीको अवस्था छ।

आज दिउँसो कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। अहिले पनि कोशी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विराटनगरस्थित मौसम कार्यालयले जनाएको छ।

महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेशमा साधारणतया बदली रहनेछ। राति कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी बाहेक मधेश, बागमती र गण्डकी प्रदेशमा पनि आज वर्षाको उच्च सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।

भारी वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपबाट बच्न र दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा हुन सक्ने असुविधालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds