विराटनगर । कोशी प्रदेश योजना आयोगले प्रदेशको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको प्रक्रिया सुरु गर्दै पर्यटकीय गन्तव्य छनोटका १८ वटा विशेष मापदण्डमाथि सरोकारवालाहरूसँग छलफल गरेको छ । विराटनगरमा आयोजित कार्यशालामा पर्यटन गुरुयोजनालाई अन्तिम रूप दिन र प्रदेशमा लगानीमैत्री एवं सुरक्षित वातावरण बनाउनका लागि नयाँ पर्यटन कानुनको तयारी भइरहेको समेत जानकारी दिइएको छ ।
कार्यशालालाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको आर्थिक समृद्धिको सबैभन्दा भरपर्दो र महत्वपूर्ण आधार पर्यटन मात्र भएको बताए । ऊर्जा, खानी, कृषि र उद्योगका आफ्नै महत्व भए तापनि छिटो प्रतिफल र दिगो आर्थिक विकासका लागि पर्यटन नै प्रमुख क्षेत्र रहेको उनको दाबी थियो । मुख्यमन्त्री कार्कीले भने, “नेपालको भविष्य पर्यटनमै छ, यस विषयमा म स्पष्ट कन्भिन्स छु र अरूलाई पनि कन्भिन्स गर्न तयार छु । हामीले हाम्रा प्राकृतिक र सांस्कृतिक सम्पदालाई मात्र सही ढंगले सदुपयोग गर्न सक्यौँ भने समृद्धिको यात्रा निकै सहज हुनेछ ।”
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउन महिनादेखि २०८५ सालसम्मलाई ‘कोशी भ्रमण वर्ष’ का रूपमा मनाउने लक्ष्य राखेको बताए । यसअघि २०८२ लाई भ्रमण वर्ष मनाउने तयारी गर्दा ८२ वटा गन्तव्य छनोट गरिएको भए पनि, अब बन्ने नयाँ गुरुयोजनामा भने संख्याभन्दा गुणस्तरमा ध्यान दिइने उनले प्रष्ट पारे । उनका अनुसार, अब २० वा त्यसभन्दा बढी मुख्य गन्तव्य छनोट गरी त्यहाँ पूर्वाधार, सुरक्षा र सबै प्रकारका आधुनिक सुविधाहरू पु¥याएर ‘मोडल’ गन्तव्यका रूपमा विकास गरिनेछ । यदि प्रतिस्पर्धामा उत्कृष्ट गन्तव्यहरू बढी आएमा २५ वटासम्म छनोट गर्न सकिने लचकता समेत सरकारले राखेको छ ।
यससँगै प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र निजी क्षेत्रको लगानी आकर्षित गर्न बलियो पर्यटन कानुन निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ । कानुनमार्फत पर्यटन व्यवसायीको हकहित र पर्यटकको सुरक्षालाई सुनिश्चित गरिने लक्ष्य राखिएको छ । कार्यशालामा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, सदस्य किशोर राई, सचिव डा. इन्द्र सापकोटा तथा विज्ञहरू सुमित बराल र डा. रोशन शेरचनले गुरुयोजनाका विभिन्न प्राविधिक पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलमा सहभागी झण्डै एक दर्जन समूहहरूले लिखित सुझाव दिँदै पर्यटन क्षेत्रमा सुरक्षाको ग्यारेन्टी र पूर्वाधार विकासलाई पहिलो सर्त बनाउनुपर्ने बताए । समूह लिडरको रूपमा सुझाव पेस गर्दै प्रदेशसभा सदस्य मिना श्रेष्ठले पर्यटकको सुरक्षा र गन्तव्यसम्मको सहज पहुँचलाई गुरुयोजनाले प्राथमिकता दिनुपर्ने बताइन् ।
त्यस्तै, पर्यटन व्यवसायीहरूले स्थानीय उत्पादनको प्रवद्र्धन र कृषि पर्यटनलाई पनि गन्तव्य छनोटको आधार बनाउन सुझाव दिएका छन् । कार्यक्रममा कोशी पर्यटन वर्ष सफल बनाउन भूमिका खेल्ने मन्त्री भीम पराजुलीसहितका अभियन्ताहरूलाई सम्मान समेत गरिएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।