काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटना सार्वजनिक भएको छ।
बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७ बजेदेखि घरको गेटअगाडि तेर्स्याएर राखिएको थियो। गाडीका कारण मोटरसाइकलसमेत बाहिर निकाल्न नसकिने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार गाडी राखेका व्यक्ति त्यसपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर त्यहाँबाट हिँडेका थिए। यसले घटनालाई थप शंकास्पद बनाएको स्थानीयको भनाइ छ। यद्यपि प्रहरीले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि सोमबार बिहान नै काठमाडौंको तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबर कार्यालयअगाडि पनि यस्तै गरी गाडी तेर्स्याएर पार्किङ गरिएको थियो। ती गाडीहरूले कार्यालयबाट सवारीसाधन बाहिर निस्किन नसक्ने अवस्था सिर्जना गरेपछि प्रहरीले क्रेन प्रयोग गरी हटाएको थियो।
अब प्रमुख प्रतिपक्षी दलका सभापति थापाको निजी निवासअगाडि पनि उस्तै शैलीमा गाडी राखिएको घटना सार्वजनिक भएपछि यसको उद्देश्य र संलग्न व्यक्तिबारे चासो बढेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।