लोड हुँदैछ...

मेनु

कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटअघि शंकास्पद गाडी पार्किङ, प्रहरीद्वारा अनुसन्धान सुरु

कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटअघि शंकास्पद गाडी पार्किङ,  प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयको प्रवेशद्वार अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएपछि आइतबार बिहान केही समय आवतजावत प्रभावित भएको छ।

बिहान करिब ७:३० बजेतिर कान्तिपुरको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको नयाँबानेश्वरस्थित कार्यालय तथा मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको गेट अगाडि निजी नम्बर प्लेटका गाडी पार्किङ गरिएका थिए।

कान्तिपुरको गेट अगाडि रोकिएको गाडीका कारण पत्रकार तथा कर्मचारीको सवारी आवतजावतमा अवरोध पुगेको थियो। टेलिभिजनको प्रसारणका लागि प्रयोग हुने गाडीसमेत बाहिर निकाल्न नसकिएको जनाइएको छ। अनलाइनखबर र हिमालय टेलिभिजनको गेटको ठूलो भागसमेत गाडीले ढाकेको थियो।

तीनवटै गाडी कसले र किन त्यहाँ छाडेको हो भन्ने खुलेको छैन। सम्बन्धित मिडिया हाउसहरूले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार गाडीको विषयमा अनुसन्धान सुरु गरिएको छ र आवश्यक प्रक्रिया पूरा गरेर गाडी हटाइनेछ।

प्रहरीले कान्तिपुर कार्यालय अगाडि पार्क गरिएको गाडीमा ह्विललकसमेत लगाएको छ।

यसअघि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको कारबाहीसँग जोडिएको गणेश नेपालीको आत्मदाह घटनापछि प्रहरीको कार्यशैली, जरिवाना र महानगरको भूमिकाबारे यी मिडिया हाउसहरूले निरन्तर समाचार प्रकाशित गर्दै आएका थिए।

मिडिया हाउसहरूले बिहानै ट्राफिक प्रहरीलाई गेट अगाडिबाट गाडी हटाइदिन अनुरोध गरेका भए पनि प्रहरीको प्रक्रिया भने करिब बिहान ११ बजापछि मात्रै अघि बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds