विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिकाबाट ठूलो परिमाणमा अवैध रूपमा लुकाई छिपाई राखिएको खरबुजाको बिउ बरामद गरेको छ।
विशेष सूचनाको आधारमा सोमबार साँझ करिब ६ बजे भद्रपुर नगरपालिका वडा नं ३, ज्ञाने चोकस्थित भिमलाल सुवेदीको घरमा छापा मार्दा उक्त बिउ फेला परेको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बशुन्धरा खड्काको कमाण्डमा खटिएको ५५ जनाको विशेष टोलीले सुवेदीको घरका दुईवटा कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले प्रतिबोरा ४० केजी तौल भएका ९४८ बोरा खरबुजाको बिउ बरामद गरेको छ। जसको जम्मा तौल ३७ हजार ९२० केजी रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त बिउलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको छ। घटनाका बारेमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो।
अवैध रूपमा भन्सार छली गरेर ल्याइएका सामानहरूको नियन्त्रणका लागि झापा प्रहरीले सक्रियता बढाएको यस घटनाले पुष्टि गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।