विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू-भाग नजिक आइपुगेकाले कोशी प्रदेशसहित मुलुकभरको मौसममा उल्लेख्य बदली भएको छ।
हाल कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्र तथा मधेस र सुदूरपश्चिमका एक-दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार सोमबार कोशी प्रदेशमा पूर्ण बदली रहनेछ। कोशीसँगै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि अधिकांश बादल लाग्ने देखिन्छ भने कर्णाली र सुदूरपश्चिममा साधारणतया बादल लाग्ने अनुमान छ। वर्षाको अवस्था हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि थोरै स्थानमा यस्तै मौसमी प्रणाली देखिनेछ।
पहाडी र तराई भू-भागको सन्दर्भमा कोशी, बागमती र गण्डकीका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनेछ। मधेस, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र कर्णालीको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने देखिएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले विशेष आग्रह गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।