विराटनगर । वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर पीडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएको छ।
२०८३ असार २६ गते निधन भएका नेपालीको विषयमा असार २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। नेपालीले आत्मदाहको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । त्यसपछि घाइते भएका उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
मुगुको सोरु गाउँपालिका वडा नं. १, जवलधारा घर भएका नेपालीको निधनप्रति नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। घटनाको निष्पक्ष अनुसन्धान, राहत, रोजगारी र शिक्षाको व्यवस्था गर्ने सम्बन्धमा दुवै पक्षबीच सहमति जुटेको छ।
सहमतिमा घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन पेश गर्ने, प्रचलित कानुन, विगतको अभ्यास र छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा मृतकलाई सहिद घोषणा गर्ने सम्बन्धमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने, घटना भएको दिन फिल्डको अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन आयोगको प्रतिवेदन नआउन्जेलसम्मका लागि हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले महानगरपालिकालाई पत्र लेख्ने, मृतककी श्रीमतीलाई योग्यता र क्षमताको आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी सुनिश्चित गरिने । साथै, उनकी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक सम्पूर्ण खर्चको व्यवस्था महानगरपालिकाले मिलाउने, काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने, मृतकको अन्तिम संस्कार र काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन तथा सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले ब्यहोर्ने, मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च र काठमाडौँमा काजक्रिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध महानगरपालिकाले गर्ने, पीडित परिवार र आफन्तका तर्फबाट शव बुझ्ने, पोस्टमार्टम लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरिने र पीडित परिवारको एकाघरका सदस्यहरूको स्वास्थ्य बिमाका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइने रहेका छन् ।
सहमति पत्रमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले हस्ताक्षर गरेका छन् भने पीडित परिवार तथा वार्ता समितिका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, र बहिनी सुन्दरी नेपालीले हस्ताक्षर गरेका छन् । वार्ता समितिका तर्फबाट भक्त बहादुर रावत, धर्मराज शाही, मन नेपाली, प्रवल कुमार चौलागाईं, नवराज न्यौपाने, पदम नेपाली, आशिप देवकोटा र सर्जन बरालले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।





























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।