विराटनगर । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान सम्पन्न दुई क्वार्टरफाइनल खेलपछि अन्तिम चार टोलीको टुंगो लागेको हो।
इंग्ल्यान्ड र अर्जेन्टिनाले आफ्नो-आफ्नो क्वार्टरफाइनल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। अब दोस्रो सेमिफाइनलमा यी दुई टोली आमनेसामने हुनेछन्।
इंग्ल्यान्डले एक गोलले पछि परेको अवस्था उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्यो। यस्तै साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो।
यसअघि फ्रान्स र स्पेनले पनि सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए। फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गर्यो भने स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० पछि पहिलोपटक अन्तिम चारमा स्थान बनायो।
सेमिफाइनल पुगेका चारै टोली यसअघि विश्वकप जितिसकेका राष्ट्र हुन्। अर्जेन्टिना तीनपटक, फ्रान्स दुईपटक तथा इंग्ल्यान्ड र स्पेन समान एक–एक पटक विश्वविजेता बनेका छन्।
फिफा वरीयतामा पनि यी चार टोली शीर्ष चार स्थानमै छन्। अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छन्।
नर्वे र स्विट्जरल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएसँगै यसपटक विश्वकपमा नयाँ राष्ट्रले उपाधि जित्ने सम्भावना समाप्त भएको छ।
पहिलो सेमिफाइनलमा असार ३१ गते अमेरिकाको डालासमा फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनल असार ३२ गते (बिहीबार) अमेरिकाको एटलान्टामा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुनेछ। दुवै खेल नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछन्।
सेमिफाइनलका विजेता टोलीबीच साउन ४ गते अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा विश्वकपको उपाधिका लागि फाइनल खेल हुनेछ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।