लोड हुँदैछ...

मेनु

२३ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह

२३ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका २३ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ। महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लालाई सुन्तला रङ (ओरेन्ज अलर्ट) दिइएको छ, जसको अर्थ यी जिल्ला र आसपासका नदीहरूमा आज बाढीको उच्च जोखिम रहेको छ।

त्यसैगरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र रौतहट जिल्ला भई बहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने देखिएको छ। यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना रहेकाले महाशाखाले तटीय क्षेत्रमा विशेष सचेत रहन अनुरोध गरेको छ।

महाशाखाले जोखिमको स्तर बुझाउन विभिन्न रङको प्रयोग गरेको छ। जसअनुसार हरियो रङले बाढीको न्यून जोखिम, पहेंलो रङले मध्यम जोखिम र सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने गरी बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। यस्तै, रातो रङले नदीको जलसतहले खतराको तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने अवस्थालाई जनाउँछ। हाल धेरै जिल्लाहरूमा मध्यमदेखि उच्च जोखिमको संकेत देखिएकाले सुरक्षित रहन र मौसमको जानकारी लिइरहन महाशाखाले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds