विराटनगर । अमेरिकाको मियामीमा भएको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्ड सेमिफाइनलमा पुगेको छ ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा बेलिङ्घमले गरेको निर्णायक गोलले इङ्गल्याण्डको भाग्य चम्काएको हो। खेलको सुरुवाती अग्रता नर्वेले लिएको थियो। खेलको ३६औँ मिनेटमा नर्वेका आन्द्रेयास सेल्डरपले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
तर, पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले गोल फर्काएपछि खेलमा नयाँ मोड आयो। दोस्रो हाफमा नर्वेका तोब्योर्न हेगेमले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई फाउलका कारण मान्यता नदिएपछि खेल थप नाटकीय बनेको थियो।
निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको सुरुवातमै अर्थात् ९३औँ मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डको जित सुनिश्चित गरे।
विश्वकपको सेमिफाइनलमा इङ्गल्याण्डको प्रवेशसँगै अब हुने ‘अन्तिम चार’ को भिडन्तलाई लिएर कौतुहलता बढेको छ। नर्वेले कडा चुनौती दिए पनि अन्तिम समयमा गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको छ। इङ्गल्याण्डका लागि जुड बेलिङ्घम फेरि एकपटक नायक सावित भएका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।