विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा शनिबार चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
विराटनगरमा आयोजित एक विशेष समारोहका बीच हाम्रोमत डटकमका कार्यकारी सम्पादक अर्जुन आचार्यसहित चार सञ्चारकर्मीलाई पुरस्कृत गरिएको हो ।
संस्थाले ५० हजार रुपैयाँ राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ कार्यकारी सम्पादक आचार्यलाई प्रदान गरेको छ । यस्तै, ५१ हजार रुपैयाँ राशिको ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलाई अर्पण गरिएको छ ।
त्यसैगरी, श्रमजीवी पत्रकारहरूको प्रोत्साहनका लागि स्थापित २१ हजार रुपैयाँ राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ पदम सरदारलाई प्रदान गरिएको छ । साथै, १० हजार रुपैयाँ राशिको ‘दमीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ बाट रस्मिता उदास पुरस्कृत गरिएको छ ।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले ती सबै पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।