लोड हुँदैछ...

मेनु

विराटनगरमा गृहमन्त्रीका ५ घण्टा : कहाँ के निर्देशन दिए ?

विराटनगरमा गृहमन्त्रीका ५ घण्टा : कहाँ के निर्देशन दिए ?

विराटनगर । गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा ५ घण्टा बिताएका छन् । बिहान ११ बजे विमानस्थल ओर्लिएदेखि अपराह्न ४ बजे सुनसरी प्रस्थान नगन्जेल उनले यहाँका सुरक्षा निकायसहित चार वटा सरकारी निकाय र नेपाल–भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गरे ।

बुद्ध एयरबाट विराटनगर ओर्लिएका गृहमन्त्रीको पहिलो गन्तव्य जिल्ला प्रशासन कार्यालय मोरङ बन्यो । कार्यालयको भवन र हाता निरीक्षण गर्दै उनले प्रशासनको नाममा रहेको जग्गाको उपयोगिता र सेवा प्रवाहबारे चासो राखे । ‘मलाई यहाँ यति धेरै जग्गा छ भन्ने थाहै थिएन,’ मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीसँग भने, ‘जग्गा पर्याप्त रहेछ, एउटै परिसरबाट एकीकृत सेवा प्रवाह गर्ने गरी व्यवस्थापन मिलाउन सके सेवाग्राहीलाई सहज हुन्थ्यो ।’ उनले छरिएर रहेका सेवालाई एकै ठाउँबाट प्रवाह गर्न र सरकारी जग्गाको सदुपयोग गर्न निर्देशन दिए ।

त्यसपछि उनी कोशी प्रदेश प्रहरी कार्यालय पुगे । त्यहाँ उनले प्रदेशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिए । प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले उनलाई कोशी प्रदेशको सुरक्षा चुनौती र प्रहरीको कार्यसम्पादनबारे ब्रिफिङ गरेका थिए ।

प्रहरी कार्यालयको ब्रिफिङपछि गृहमन्त्री गुरुङ सिधै नेपाल–भारत सीमा क्षेत्र (जोगबनी नाका) पुगेका थिए । सीमामा हुने चोरी–पैठारी र सुरक्षा अवस्था बुझ्न पुगेका उनले त्यहाँ कार्यरत सुरक्षाकर्मीका समस्या समेत सुने । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सीमा क्षेत्र ठूलो भएको तर सुरक्षाकर्मीको संख्या र प्रविधि न्यून भएको स्वीकार गरे । ‘काम चुनौतीपूर्ण छ, सीसीटीभी र आधुनिक निगरानी संयन्त्रको अभाव छ,’ उनले भने, ‘सुरक्षाकर्मीलाई बस्ने ठाउँ समेत अभाव देखियो, यसका लागि हामीले बजेटमा पहल गरेका छौँ ।’

सीमा क्षेत्रको निरीक्षणकै क्रममा उनी एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर भन्सार कार्यालय पनि पुगेका थिए । उनले राजस्व चुहावट नियन्त्रण गर्न र अवैध कारोबार रोक्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । सोही अवसरमा उनले विकास र सुरक्षाका लागि राजनीतिक दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने सन्देश समेत दिए ।

विराटनगर बसाइको अन्तिमतिर उनले जिल्ला प्रहरी कार्यालय मोरङको भवन निरीक्षण गरे । मोरङ प्रहरीको भौतिक अवस्था र जनशक्तिबारे जानकारी लिएपछि उनी अपराह्न ४ बजे सुनसरीतर्फ लागेका हुन् ।

विराटनगरका विभिन्न निकायको निरीक्षण सकेर निस्किएका गृहमन्त्री गुरुङले आजै सुनसरीका सुरक्षा निकायको निरीक्षण गरी धनकुटा पुग्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।