विराटनगर । टाउकोमा टोपी, आँखामा कालो चस्मा र सेतो टी–सर्टमा सजिएका गृहमन्त्री सुधन गुरुङ शनिबार बिहान ११ बजे विराटनगर विमानस्थलमा ओर्लिए । विमानस्थलको धावनमार्गबाट उनी बाहिर निस्कँदै गर्दा सुरक्षा निकायका प्रमुखहरू स्वागतका लागि लहरै उभिएका थिए ।
सुरक्षा अधिकारीहरूको सलामी र स्वागत ग्रहण गरेलगत्तै उनी यात्रु कक्ष बाट बाहिरिए । त्यहाँको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको थियो । भीआईपी मुभमेन्टका बेला सुरक्षामा खटिएको उक्त कुकुरलाई देख्नेबित्तिकै गृहमन्त्री गुरुङको पाइला रोकियो । उनी त्यहाँ केही बेर अलमलिए ।
औपचारिक सुरक्षा घेराभित्रै उनले सुरक्षामा खटिएको कुकुरलाई आत्मीय भावले सुम्सुम्याउन थाले । मन्त्रीले माया दर्शाएपछि कुकुरले पनि पुच्छर हल्लाउँदै प्रतिक्रिया दियो । अचम्म त के भने, गृहमन्त्रीले आफ्नो दाहिने हात कुकुरको मुखै नजिक पुर्याएर चाट्न दिए । सुरक्षामा खटिएको जनावरप्रति गृहमन्त्रीले देखाएको यो अस्वभाविक तर आत्मीय दृश्यलाई त्यहाँ उपस्थित सुरक्षाकर्मी र सर्वसाधारणले निकै चासोपूर्वक हेरेका थिए ।

पशुपक्षी र जनावरप्रति दयाभाव राख्ने मन्त्री गुरुङको यो शैलीले विमानस्थलमा केही बेर रमाइलो वातावरण सिर्जना गर्यो । कुकुरसँग केही मिनेट समय बिताएपछि उनी सरकारी गाडी चढेर जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका लागि प्रस्थान गरे । निरीक्षणका क्रममा उनले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
भवनको अवलोकनपछि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले प्रशासनको स्वामित्वमा पर्याप्त जग्गा रहेकाले एउटै परिसरबाट एकीकृत सेवा प्रवाह गर्न सके सेवाग्राहीलाई सहज हुने बताए ।

निरीक्षण सकेपछि जिल्ला प्रशासन कार्यालय बाहिर हनुमान मन्दिर रहेको छ । त्यहाँ उनले भित्र प्रवेश गरेर केहीबेर पूजापाठ गरे । त्यसपछि उनलाई घेरिएका शुभचिन्तहरुसँग उनले फोटो खिचाएर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीतर्फ लागे । उनी अहिले त्यहाँ दिवा खाजाका लागि कोशी प्रदेश प्रहरी कार्यालय रानीमा छन् । त्यहाँ सुरक्षा निकायसँग ब्रिफिङ गरेर त्यहाँबाट दुइ किलोमिटर दक्षिणमा रहेकोक नेपाल–भारत सीमा नाकाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।