इटहरी । इटहरी उपमहानगरपालिकाको राजस्व संकलनसम्बन्धी सेवा सात दिनका लागि बन्द गरिएको भए पनि प्राविधिक समस्या समाधान हुन नसक्दा सेवा अझै सञ्चालनमा आउन सकेको छैन।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा नयाँ आर्थिक ऐन, २०८३ अनुसारका कर तथा शुल्कका विवरण अद्यावधिक गर्ने क्रममा देखिएको प्राविधिक समस्याका कारण राजस्व सेवा प्रभावित भएको हो।
उपमहानगरपालिकाले बिहीबार जारी गरेको जरुरी सूचनामा साउन ७ गतेभित्र प्रणालीमा आवश्यक विवरण प्रविष्ट गरी सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि प्राविधिक अवरोधका कारण तोकिएको समयमै काम पूरा गर्न नसकिएको जनाएको छ।
यसअघि उपमहानगरपालिकाले साउन ७ गतेसम्म नगर कार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयबाट प्रदान गरिने राजस्व संकलनसम्बन्धी सम्पूर्ण सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर, प्रणाली अद्यावधिकको काम अझै पूरा नभएकाले सेवा निरन्तर प्रभावित भएको उपमहानगरपालिकाले जनाएको छ।
राजस्व सेवा अवरुद्ध हुँदा घरजग्गा कर, सम्पत्ति कर, व्यवसाय कर, विभिन्न सिफारिस शुल्क तथा अन्य राजस्वसम्बन्धी सेवा लिन पुगेका सेवाग्राही समस्यामा परेका छन्।
उपमहानगरपालिकाले प्राविधिक समस्या समाधान गरी राजस्व सेवा यथाशीघ्र नियमित गर्ने प्रयास भइरहेको जनाएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।