लोड हुँदैछ...

मेनु

सुकुना मावि प्रकरण :

राती १०–११ बजे छात्रालाई फोन गर्थे शिक्षक र भिडियो कल गर्न दबाब दिन्थे

राती १०–११ बजे छात्रालाई फोन गर्थे शिक्षक र भिडियो कल गर्न दबाब दिन्थे

विराटनगर । ‘राति साढे १०–११ बजेतिर लगातार फोन आउँथ्यो । फोन उठाउँदा शिक्षकले भन्थे– तिम्रो परीक्षाको उत्तरपुस्तिका मसँगै छ, भन तिमीलाई कति नम्बर चाहिन्छ ? मलाई आफ्ना ५० वटा जति फोटो पठाऊ र भिडियो कल उठाऊ ।’

मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयकी एक भूतपूर्व छात्राले विगतमा भोगेको यो अनुभव अहिले सामाजिक सञ्जाल हुँदै अनुसन्धानको घेरामा पुगेको छ । कक्षा ११ मा अध्ययनरत रहँदा परीक्षामा नम्बर थपिदिने प्रलोभन देखाएर शिक्षकबाट अश्लील र अमर्यादित मागहरू गरिएको सो घटना वर्षौंसम्म डर र लोकलाजका कारण दबेर रहेको थियो ।

तर, अहिले ती छात्राले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता तोडेकी छिन् । उनले आफू र आफ्ना साथीहरूले विगतमा विद्यालयभित्रै भोगेको शारीरिक तथा मानसिक दुव्र्यवहारको शृङ्खलालाई सार्वजनिक गरेकी छिन् । जसले सुकुना माध्यमिक विद्यालयमा भएको छात्रा दुव्र्यवहार प्रकरणलाई सतहमा ल्याइदिएको छ ।

यस गम्भीर आरोपको आधारमा प्रहरीले तत्काल कदम चाल्दै विद्यालयका दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले सोमबार बिहान विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र ३५ वर्षीय शिक्षक अबिरल मास्केलाई नियन्त्रणमा लिएको हो ।

पीडित छात्राहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका अडियो र म्यासेजका स्क्रिनसटहरूका अनुसार विद्यालयभित्र छात्राहरूले लामो समयदेखि असुरक्षित महसुस गरिरहेका थिए । ‘त्यो नील सर पनि एक नम्बरको छ । त्यसले खाली क्या हात अठाउन आउँथ्यो अनि गाला सुमसुम्याउँथ्यो, मेकअप गरेकी छौ भन्दै,’ अर्की पीडित छात्राले आफ्नो पीडा पोखेकी छिन्, ‘म चाहिँ सर नछुने, यसो नगर्नु भन्दै भन्थेँ तर त्यो सरको हेर्ने नजर नै बेग्लै थियो ।’

अर्की छात्राले विद्यालय जाँदा र फर्कँदा शिक्षकहरूले बाटो ढुकेर बस्ने र ‘बेबी, डार्लिङ’ जस्ता अमर्यादित शब्द प्रयोग गरेर जिस्क्याउने गरेको उल्लेख गरेकी छिन् । कतिपय छात्राहरूलाई ‘तिमी आफ्नो उमेरभन्दा निकै परिपक्व देखिन्छौ’ भन्दै शिक्षकहरूले अश्लील आशयका कुरा गर्ने गरेको गुनासो पनि बाहिरिएको छ । ‘मलाई त्यो टाइममा मैले किन भनिनँ, त्यो कुराले मलाई अहिलेसम्म हन्ट गर्छ,’ एक छात्राले भनिन्, ‘त्यो सरले गरेको त्यो सबै सम्झिँदाखेरि मलाई यस्तो असहज महसुस हुन्छ, जुन म शब्दमा बयान गर्न सक्दिनँ ।’

यो गम्भीर विषय बाहिर आउनुको पछाडि विद्यालयको शुल्क वृद्धिको विरोध कार्यक्रम माध्यम बनेको थियो । विद्यालयले ट्रान्सक्रिप्टका लागि ३ हजार ७ सय रुपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीहरूले सामाजिक सञ्जाल फेसबुकमा एउटा समूह बनाएर विरोध सुरु गरेका थिए ।

तर, विद्यालय प्रशासनले विद्यार्थीहरूको जायज आवाजलाई दबाउन ग्रुप सञ्चालकहरू पहिचान गरी साइबर अपराध अन्तर्गत कारबाही गर्ने धम्की दियो । प्रशासनको यो धम्कीपूर्ण व्यवहारले विद्यार्थीहरूलाई झन् आक्रोशित बनायो । आफ्नो अधिकारको आवाज कुण्ठित गर्न खोजिएपछि आक्रोशित छात्राहरूले शिक्षक तथा कर्मचारीहरूले विगतमा पठाएका अमर्यादित म्यासेजका स्क्रिनसट र भ्वाइस क्लिपहरू सोही ग्रुपमा प्रमाणका रूपमा सार्वजनिक गर्न थाले । यसरी एउटा सामान्य विरोध कार्यक्रम विद्यालयभित्रको गम्भीर नैतिक र कानुनी अपराधको पर्दाफास गर्ने माध्यम बन्न पुग्यो ।

छात्राहरूले यसअघि पनि विद्यालय प्रशासनलाई यस्ता दुव्र्यवहारबारे मौखिक र लिखित रूपमा सचेत गराएका थिए । कतिपय छात्राहरूले प्रधानाध्यापक र अन्य शिक्षकहरूलाई भेटेरै गुनासो गर्दा उल्टै ‘त्यसो गरे झापड हान्दिनु’ भनी गैरजिम्मेवार जवाफ दिइएको बताएका छन् । विद्यालय प्रशासनले पीडकहरूमाथि कुनै कडा विभागीय कारबाही नगरेपछि छात्राहरूले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने स्थिति आएको थियो ।

विद्यालयका प्रधानाध्यापक हिकमत बहादुर बस्नेतले केही समयअघि विद्यालयको आधिकारिक ईमेलमा दुई वटा बेनामे गुनासोसहितका मेलहरू आएको स्वीकार गरेका छन् । ‘दुईवटा मेल आएका थिए,’ प्रधानाध्यापक बस्नेतले भने, ‘तर शिक्षक किटान गरेर नआएकाले मैले सबै स्टाफलाई राखेर यस्तो मेल आएको छ, के हो भनेर बुझेको थिएँ । त्यतिबेला कसैबाट केही खुलेन ।’

मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले छात्राहरूमाथि भएको यौनजन्य दुव्र्यवहारको विषय अत्यन्त संवेदनशील रहेकाले अनुसन्धान प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाइएको जानकारी दिएका छन् । ‘अहिले विद्यालयमा कुनै पनि थप अशान्ति वा अवाञ्छित घटना नहोस् भनेर हामीले आरोपी ३ जनालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी मिश्रले भने, ‘थप अनुसन्धान र प्रमाण सङ्कलनबाट घटनाको वास्तविकता बाहिर आउने नै छ ।’

यसैबीच, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै आरोपी शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन र प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्न निर्देशन दिएका छन् ।

छात्राले गरेको बयान जस्ताको तस्तै

कसम भन्या के, यो अबिरल सरलाई नि जेल हाल्नै पर्छ क्या । यसले झन् मलाई यस्तो गरेको छ… म ११ क्लासमा हुँदाखेरि चाहिँ, एकचोटी हाम्रो मेरो एकाउन्टको एक्जाम थियो जस्तो लाग्छ । अनि ११ को फाइनल एक्जाममा त्यो सर पर्या थियो । अनि त्यहाँ अब क्लासमा नजिकै आउने गर्दथे । त्यतिबेला त मैले त्यस्तो फिल गरिनँ, म आफ्नै एक्जाममा व्यस्त थिएँ । अनि राति १०ः३०–११ बजेतिर ¥यान्डम्ली फोन गरेको गर्यै, गरेको गर्यै गरे । अनि मैले किन फोन गरेको भनेर भने ? अनि त्यसपछि ‘तिम्रो पेपर मसँग छ, भन न तिमीलाई कति नम्बर चाहिन्छ ?’ अनि, ‘तिमीले मलाई ५० वटा जति फोटो पठाऊ तिम्रो, अनि त्यसपछि भिडियो कल उठाऊ ।’ यस्तै के–के भनेको के । अनि म पुरै फ्रिज भएँ क्या !

अनि मैले, ‘तपाईंलाई लाज लाग्दैन ? तपाईंको बुढीलाई म भन्दिन्छु’ भनेर भनेँ मैले, हैन । ‘उसलाई सबैथोक थाहा छ, जेसुकै गर न तिमी’ भनेर त्यस्तो कुरा गर्न थाल्यो क्या । मैले स्क्रिनसट लिएँ, त्यतिखेर मेरो एन्ड्रोइड फोन थियो । अनि मेरो साथीहरूलाई पनि पठाएको थिएँ मैले । तर त्यो एकाउन्ट छैन मेरो अहिले, अनि त्यो फोन पनि छैन, मेन कुरा नै त्यही भयो, नत्र म पहिला नै यो भिडियो बनाएर नै हालिदिन्थेँ होला क्या । त्यो प्रमाण नभइसकेपछि चाहिँ म कहिल्यै बोल्नै सकिनँ क्या ।

अनि जसले पनि यो भोगेको छ नि हैन, आई डोन्ट थिङ्क अबिरल बाहेक अरुबाट कसैको कोही हो क्या । अब होला, हैन, अब म निस्केको धेरै पनि भइसक्यो । त्यतिखेर चाहिँ हामीले अफिसमा गएर भनेको पनि थियौँ । हामीले अफिसमा गएर भनेको, किनकि एकजना मेरो साथी थिई, उसलाई त्यसै गर्ने क्या, अनि छुने ओर्ने । अनि हामीले अफिसमा गएर भन्दाखेरि, ह्वाट दे सेड भने, अब त्यसो ग¥यो भने झापड हान्दिनु हैन, अनि स्ट्यान्ड लिनु भन्नुभयो । तर त्यो खालको कहिल्यै पनि रियाक्सन आएन क्या अफिसबाट । अनि त्यतिखेर खोइ कुन सरलाई हामीले भनेका थियौँ, डाइरेक्टली गएर भनेका थियौँ, अनि त्यतिखेर कोही पनि सिरियस थिएन क्या । अनि ह्वाट वि थट भने, ‘ए ओके, भनेको स्ट्यान्ड नलिने रहेछ हाम्रो… मतलब हाम्रो पक्षमा’ अनि हामीले बोल्नै छोडिदियौँ क्या । हामीले बोल्नै छोडिदियौँ त्यो बारे, अनि बरु आफैँ बच्ने, त्यस्तो गर्न थालेका थियौँ क्या पछिबाट ।

तर मेन कुरा भनेको नि अहिले भनेको प्रुफ छैन भने नि कसैले केही पनि भन्दैन क्या । झन् यो केटी मान्छेको केसमा त झन् हैन, जहिले पनि के रे केटा मान्छे नै सहि जस्तो बनाइदिन्छ क्या । अनि मसँग प्रुफ नभएको कारणले चाहिँ म स्टेप ब्याक गरेको हो । एट द मोमेन्ट हैन, तर अब भोलिको दिनमा सबै प्रुफहरू आइसकेपछि चाहिँ म म चुप लागेर बस्दिनँ, तपाईंहरूले भन्नु पनि पर्दैन ।’

अर्की छात्राको भनाइ

यसले मलाई त्यस्तो गरेको छ । त्यो एउटा बाटो हिँड्दै थियो भने म अर्को बाटोबाट हिँड्थेँ । त्यसले मलाई त्यस्तो सम्म भनेको छ, त्यस्तो सम्म म म एक्सप्लेन गर्न सक्दिनँ त्यो कुराहरू, मलाई कस्तो फिल हुन्थ्यो त्यो टाइममा भनेर हैन । त्यतिबेला मलाई डर लाग्थ्यो क्या, स्कुलले मेरो स्कुलमा मेरो बदनामी हुन्थ्यो भनेर मैले कसैलाई नभनेको हो हैन । तर अब त म सबलाई भन्छु, यो अबिरल मुला यो यस्तो, म सबलाई भन्छु अब त, कसम हो क्या ।

अनि के भनेको थियो भने हैन, तिमी आफ्नो एज भन्दा नि कस्तो म्याच्युर्ड देखिन्छौ, तिम्रो…’ त एकदमै हुन्छ नि, कसरी भन्नु, त्यस्तै भनेको थियो मलाई । अनि हि इभन आस्कड मि फर हुन्छ नि, मेरो रेट हुन्छ नि अब… कसरी म भन्न सक्दिनँ क्या, म कसरी भन्नु मलाई त्यो… म आँटै गर्न सक्दिनँ क्या, मेरो मेरो बद्नामी हुन्छ जस्तो लाग्छ क्या । मलाई त्यो टाइममा मैले किन भनिनँ, त्यो कुराले मलाई अहिलेसम्म हन्ट हुन्छ क्या । त्यो सरले गरेको त्यो सबै सम्झिँदाखेरि मलाई यस्तो यस्तो फिल हुन्छ नि, यस्तो फिल हुन्छ नि… ।

अर्की छात्राको भनाइ

त्यो नील सर पनि एक नम्बरको छ । त्यसले खाली क्या हात अठाउन आउँथ्यो अनि गाला सुमसुम्याउँथ्यो नि । मेकअप गरेकी छौ भन्दै । अनि म चाहिँ अनि सर नछुने, यसो नगर्नु भन्दै भन्थेँ तर त्यो सरको हेर्ने नजर नै बेग्लै थियो क्या । कस्तरी हेथ्र्यो, म त्यो सरसँग आई कन्ट्याक्ट गर्न त सक्दिनँ थिएँ । त्यो सर त्यस्तो थियो क्या ।

त्यो अबिरलले मेरो साथीलाई बेबी डार्लिङ भन्दै बाटो ढुक्थ्यो । ११ मा हामी नयाँ एडमिसन थियौँ । त्यसले हामीलाई ११ मा त्यतिखेर एकाउन्ट पढाउँथ्यो, हामीलाई १२ मा मात्रै पढाएको हो । मैले मेरो साथीलाई भनेँ– गएर प्रिन्सिपललाई गएर भनौँ, यस्तो यस्तो भनेको छ, टिचर भएर त्यस्तो भन्ने हो ? भन्दै भनेको । त्यसले छाड्दे छोड्दे भन्दै भनी र हामीले छोडिदिएको के त्यतिखेर ।

अर्की छात्राको भनाइ

ओके म के रे ११ क्लासको फाइनलतिरको हैन । अनि अब त्यो टिचरको नाम चाहिँ म अहिले भन्दिन्न हैन, फ्युचरमा फ्युचरमा अब इफ त्यो टिचर एक्सपोज भयो भने चाहिँ म आउट लाउड भएर भन्छु । अनि त्यो त्यो टिचरको चाहिँ यो सुकुनामा हैन, तपाईंले इफ पहिलाको ब्याजलाई या फिर अहिलेको ब्याजलाई जसलाई पनि, जसलाई पनि क्या जसलाई सुकै पनि कुनै केटीलाई सोध्नुभयो भने उसले पनि भन्छ क्या, म पनि गोथ्रु गरेको छु त्यो सरदेखि भनेर भन्छ । म त्यति कन्फिडेन्ट छु क्या त्यो कुरामा ।

अनि हुन चाहिँ म ८ क्लासदेखि पढेको हैन सुकुनामा, अनि ९ क्लासदेखि नै त्यो स्टार्ट भएको थियो । अनि हुन्छ नि अलिकति जिस्क्याउने अनि गाला छुने अनि कस्तो सफ्ट छ हो यसको गाला…। टिचरले त्यस्तो भन्ने ! अनि अनि जहिले पनि त्यो सर आयो भने चाहिँ जहिले पनि म ब्याकआउट गरेर कता अर्कै बाटोबाट हिँड्थेँ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।