विराटनगर । विराटनगर–८ हाटखोलास्थित बगैंचा रिसोर्ट (साविकको फन एण्ड फुड भिलेज) को स्वीमिङ्ग पुलमा डुबेर त्यहाँ कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
रिसोर्टमा कुक (भान्से) को रूपमा कार्यरत सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय गजेन्द्र यादवको सोमबार बिहान डुबेर मृत्यु भएको हो ।
मोरङ प्रहरीका उपरीक्षक (एसपी) कबित कटुवालका अनुसार यादव बिहान एक्लै स्वीमिङ्ग पुलमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा अचानक शरीरले काम नगरेजस्तो स्थिति (सिजर वा क्र्याम्प) भएपछि उनी पानीमा डुबेको प्रारम्भिक जानकारी प्राप्त भएको एसपी कटुवालले बताए ।
“बिहानको समयमा उनी एक्लै पौडी खेल्न गएको देखिन्छ, त्यहाँ अचानक शरीरले काम नगरेर उनी डुबेको बुझिएको छ,” एसपी कटुवालले भने, “यद्यपि, घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएको छ ।”
कार्यरत कर्मचारीकै रिसोर्ट परिसरभित्र मृत्यु भएपछि अहिले सो क्षेत्र शोकपूर्ण बनेको छ । प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप सोधपुछ र छानबिन गरिरहेको जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।