लोड हुँदैछ...

मेनु

छात्रामाथि दुव्र्यबहार गरेको आरोपमा दुई शिक्षक र सवारी चालक पक्राउ

छात्रामाथि दुव्र्यबहार गरेको आरोपमा दुई शिक्षक र सवारी चालक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक सवारी चालक छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले सोमबार बिहान विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र ३५ वर्षीय शिक्षक अबिरल मास्केलाई पक्राउ गरेको हो।

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत तथा अश्लील सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउने तथा अमर्यादित व्यवहार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनामा छात्रामाथि यौनजन्य दुर्व्यवहारसमेत भएको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाएको जनाएको छ।

डीएसपी मिश्रले घटनाको वास्तविक प्रकृति र संलग्नताको अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै खुल्ने बताए। अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने उनले जानकारी दिए।

घटनापछि विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेका थिए। सम्भावित तनावलाई ध्यानमा राख्दै विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो। विद्यार्थी र अभिभावकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले पनि गम्भीर चासो व्यक्त गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

नगरपालिकाले सार्वजनिक रूपमा आएका आरोप गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धानमा सहयोग गर्न र अनुसन्धानको प्रगतिबारे नगरपालिकालाई नियमित जानकारी गराउन विद्यालय व्यवस्थापनलाई निर्देशन दिएको छ।

विद्यालय व्यवस्थापनले पनि अनुसन्धानलाई सहयोग पुग्नेगरी सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रशासनिक प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा दोषी ठहर हुने जोसुकैमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।