लोड हुँदैछ...

मेनु

कोशीको तराईमा ७५ प्रतिशत रोपाइँ सकियो, तर किसानलाई मलकै पिरलो

कोशीको तराईमा ७५ प्रतिशत रोपाइँ सकियो, तर किसानलाई मलकै पिरलो

विराटनगर। कोशी प्रदेशको अन्न भण्डार मानिने तराईका जिल्लाहरूमा यस वर्ष धान रोपाइँमा उत्साहजनक प्रगति देखिएको छ। कृषि विकास निर्देशनालय, विराटनगरको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशका तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा औसत ७५.७१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

तथ्याङ्कअनुसार सुनसरीमा ८२ प्रतिशत, झापामा ७७ प्रतिशत र मोरङमा ७० प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशभरको समग्र अवस्था हेर्दा कुल २ लाख ७६ हजार ६ सय ४६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये साउन ४ गतेसम्म २ लाख ४ हजार ३ सय ५० हेक्टर अर्थात् ७३.९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ।

गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति निकै छिटो देखिएको छ। २०८० साल साउन ४ गतेसम्म कोशी प्रदेशमा मात्र ६१.७१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा करिब १२ प्रतिशत बढी रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ।

प्रदेशका उच्च पहाडी जिल्लाहरू (ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु) मा औसत ६०.७७ प्रतिशत रोपाइँ भएको छ। यस्तै, मध्य पहाडका ८ जिल्लाहरू (पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ) मा ७२.०१ प्रतिशत रोपाइँ सकिएको छ। जिल्लागत रूपमा सोलुखुम्बुमा सबैभन्दा बढी ८४ प्रतिशत र भोजपुरमा ५० प्रतिशत रोपाइँ भएको छ।

तीन चौथाइ क्षेत्रफलमा रोपाइँ सकिन लाग्दासमेत किसानहरूले रासायनिक मलको चर्को अभाव झेल्नुपरेको छ। खेत हिल्याउँदा अनिवार्य प्रयोग गर्नुपर्ने डीएपी मल बजारमा नपाउँदा किसानहरू समस्यामा परेका छन्। गोबर मलको विकल्पका रूपमा प्रयोग गरिने रासायनिक मल नपाएपछि कतिपय किसानले बिना मल नै धान रोपेका छन् भने कतिपयले मलकै पर्खाइमा रोपाइँ ढिलो गरिरहेका छन्। समयमै वर्षा भएर रोपाइँ छिटो भए पनि धान पसाउने बेलासम्म उत्पादनमा असर पर्न सक्ने भन्दै किसानहरू चिन्तित छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।